arrow

प्रदेश ५ फुटाउने प्रस्तावपछि चर्चा आठौं प्रदेशको, माओवादीमा डढेलो लाग्दै

के भन्छन् प्रदेश ५ का माओवादी नेता ?

logo
प्रकाशित २०७३ मंसिर २ बिहिबार
prades-FIVE.jpeg

काठमाडौं । मुख्य दलहरुबीच संविधान संशोधनका विषयमा सहमति जुट्न नसकिरहेका बेला प्रदेशको सीमाङ्कनका विषयलाई लिएर सत्ताको नेतृत्वकर्ता दलभित्रै विमत्ति देखिएको छ । पछिल्लो समय दल र सांसदहरुकाबीचमा प्रदेश नम्बर पाँचको सीमाङ्कन हेरफेर गर्ने सन्दर्भमा अनौपचारिक छलफल जारी छन् ।

सत्ताधारी माओवादी केन्द्रभित्र यस विषयमा बहस चर्किएको छ । माओवादी केन्द्रका केही नेता तथा सांसदहरुले ८ प्रदेशमा जान समेत भनेका छन् । गएको कार्तिक २८ र २९ गते काठमाडौंमा बसेको माओवादी केन्द्रको प्रदेश ५ को बैठकमा नेताहरुबीच तातो बहस चल्यो । केहीले प्रदेश ५ को सीमाङ्कन हेरफेरमा मिलाउनै नसकिने भए एक प्रदेश थपेर ८ प्रदेश बनाउनु पर्ने सुझाव दिए ।

बैठकमा सहभागि पूर्वमन्त्री एवं दाङबाट व्यवस्थापिका संसद सदस्य रेखा शर्माले ८ प्रदेश बनाउनु पर्ने कुरा उठेको बताइन् । उनले हाम्राकुरासँग भनिन्, ‘हो हो म बैठकमा उपस्थित थिए । केही साथीहरुले ८ प्रदेश बनाउनु पर्ने कुरा उठाएकै हुन् ।’

छलफलमा रहेको भनिएको संशोधन प्रस्तावमा सरकारले प्रदेश नम्बर ५ मा रहेका गुल्मी, अर्घाखाँची र पाल्पालाई प्रदेश नम्बर ४ मा र रुकुम, रोल्पा र प्युठानलाई प्रदेश नम्बर ६ मा मिलाउने उल्लेख गरेको बताइँदै छ ।

माओवादीका केही नेताहरुले अहिलेको प्रस्ताव भन्दा एक कदम अघि बढेर ती जिल्लाहरुलाई मिलाई आठौं प्रदेश बनाउन सकिने समेत बताएका छन् । अहिले ४ र ६ मा मिलाउने भनिएका जिल्लाको व्यवहारिक पक्ष हेर्ने हो भने आठौं प्रदेश बनाउनु पर्ने ती नेताहरुको तर्क छ ।

आठौं प्रदेशमा रुकुम, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, गुल्मी र बाग्लुङ रहनेछन् । प्रदेशको केन्द्र भने नयाँ ठाउँमा छान्नु पर्ने हुन्छ । माओवादीमा प्रदेश पाँच पूर्व अर्थमन्त्री एवं माओवादी हेडक्वार्टर सदस्य वर्षमान पुनले सम्हालिरहेका छन् ।

विवादित प्रदेश १ र २ नचलाउने ५ नम्बरसँग के रिसिवी छ ? : सांसद उपाध्याय
प्रदेश ५ कै माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्यायले प्रदेश फुटाउने भन्नेमा आक्रोश पोखे । उनले भने, ‘के कारणले फुटाउने । यहाँ कसैले केही माग राखेका पनि छैनन् । विवादित पनि छैन । यहाँका सबै राजनीतिक दल र नागरिक अहिलेकै सीमाङ्कन प्रस्ताव उपयुक्त रहेकोमा दृढ छन् । चलाउन खोजिए कसैलाई मान्य हुने वाला छैन ।

यदी त्यसो भए आगो बल्नेवाला छ ।’ तपाईकै पार्टी सरकारमा छ, सरकारले नै यस्तो प्रस्ताव गरिरहेको छ ? जवाफमा उनले भने, ‘मन लागि गर्न पाइन्छ ? माग गर्ने यहाँका जनप्रतिनिधि र नागरिकले कि कोही अन्य प्रदेशमा बस्ने नेताहरुले ? यो माग गर्ने कस्ता ? ।’ यहाँ कसैले माग पनि गरेको छैन । आवश्यकता पनि होइन ।

झोंकिदै उनले भने, ‘पार्टीको प्रदेश बैठकमा फुटाल्ने र छुट्टै अर्को प्रदेश बनाउने कुराहरु आए । संशोधनको माग गर्नेले जहाँ विवाद छ त्यहाँ गर्नु नि !  झापा, मोरङ, सुनसरी, कन्चनपुर । जहाँ विवाद छ त्यहाँ नचलाउने । अनि प्रदेश ५ विगार्न खोज्ने ? के रिसिवी छ प्रदेश ५ सँग ? ।’
 

९० प्रतिशतले प्रदेश ५ को सीमाङ्कन नचलाउन भनेका छन्  : टोपबहादुर
माओवादी केन्द्रका नेता एवं अर्घाखाँची १ को सांसद टोप बहादुर रायमाझीले बैठकमा ८ प्रदेश बनाउने कुरा उठेको स्वीकारे । यद्यपि, उनले दुई तीन जनाले उठाएको कुरालाई आधार मान्न नहुने बताए ।

उनले भने, ‘दुई ती जनाले भनेका हुन् । ९० प्रतिशत सीमाङ्कन चलाउन हुँदैन भन्ने पक्षमा थिए । केहीले यदी संरक्षण नै गर्न नसकिने अवस्था आयो र मिलाउनै नसक्ने अवस्था आयो भने ८ प्रदेश बनाउन न त भनेका हुन् ।’ सम्भवतः प्रदेश पाँच चलाउने कुरा सपना हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ