arrow

शङ्कास्पद वस्तु विस्फोटमा थप दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
Nijgadh_Nagarpalika.png
तस्बिर – फाइल ।

बारा । निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद वस्तु पड्किँदा घाइते दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गवाहीका ३५ वर्षीय राकेश जयसवाल र वीरगञ्ज महानगरपालिका–९ का रितु रजत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । घाइतेहरुको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

बम जस्तो देखिने वस्तु सोमबार विस्फोट हुँदा वर्कशप सञ्चालक निजगढ नगरपालिका–९ का रेशम जर्घा मगरको घटनास्थलमै मृत्यु भएको थियो । कवाड सञ्चालक राज जैसवालले बमजस्तो देखिने वस्तुमा रहेको तामा निकाल्न वर्कशपमा ल्याएको र काट्ने क्रममा सो वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ । 

घटनामा संलग्न रहेको शङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–९ का फिरोद देवान र भारत राम गढवाका अरीवन साह रहेको प्रहरी प्रवक्ता न्यौपानेले भने । 

साथै वर्कशपमा सो वस्तु ल्याउने कवाड पसल सञ्चालक भारतीय नागरिक राज जैसवाल र उनकी श्रीमती सुशीलादेवी जैसवाललाई भारत भाग्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताएका छन् । घटनाबारे अनुसन्धान जारी रहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ