arrow

ताप्लेजुङमा दश हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
khop-rubela-dadura.jpg

फुङ्लिङ। ताप्लेजुङ जिल्लामा दश हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै छ । सरकारले सञ्चालन गरेको राष्ट्रिय खोप अभियान अन्तर्गत ताप्लेजुङका सबै क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खोप लगाउन लागिएको हो ।

 यही फागुन १८ देखि २२ गतेसम्म फुङ्लिङ नगरपालिका, पाथीभरा यावरक, सिदिङवा, र सिरिजङ्गा गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए । 

त्यस्तै मेरिङदेन, मैवाखोला, आठराई त्रिवेणी, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिका क्षेत्रमा फागुन २४ देखि २८ गते सम्ममा खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । ताप्लेजुङ जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका दश हजार बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा लगाइनेछ । 
 
खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ-आफ्ना बालबालिकालाई खोप लगाउन कार्यालयले आह्वान गरेको छ । खोपबाट ८५ प्रतिशतलाई दादुरा रुवेला रोगसँग लड्ने क्षमता विकास गर्ने जनाइएको छ । खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउनेजस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । दादुरा-रुवेला खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । 

खोप अभियानमा सात वटा रोगविरुद्धको खोप पनि सँगै सञ्चालन हुनेछन् । हेपाटाइटिस बी, धनुष्टङ्कार, इन्फ्लुएन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्धको खोप पनि सञ्चालन हुने स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । 

सन् २०२६ सम्म दादुरा-रुवेला निबारण गर्ने लक्ष्यका साथ यसपटक खोप अभियान सञ्चालन गरिएको हो । देशभरका ४९ हजार खोप केन्द्रमार्फत ६० हजार महिला स्वास्थ्य स्वयंसेविका र ४४ हजार स्वास्थ्यकर्मीमार्फत् खोप अभियान सञ्चालन हुनेछ । यो अभियान सञ्चालनमा रु एक अर्ब ३६ करोड खर्च लाग्नेछ । जसमध्ये ८४ प्रतिशत रकम गाभी (ग्लोबल भ्याक्सिनेशन अलाइन्स) ले अनुदान दिएको छ भने बाँकी नेपाल सरकारले ब्यहोर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ