arrow

वाफमा नेपालको शानदार प्रदर्शन

वाफ च्याम्पियनशिपमा नेपाल उपविजेता, पेनाल्टी सुटआउटमा जोर्डनसँग पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
nepal-jorden-24-02-29.jpg

काठमाडौँ । पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनशिप फुटबलमा नेपाल उपविजेता भएको छ । बिहीबार राति साउदी अरेबियाको जेद्दामा भएको फाइनलमा पेनाल्टी सुटआउटमा जोर्डनसँग पराजित हुँदै नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो । 

जोर्डनले पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले नेपाललाई पराजित गर्दै वाफको उपाधि जितेको हो । जोर्डनका सबै पाँच खेलाडीले गोल गरेका थिए ।

नेपालका तर्फबाट गीता राना, दीपा शाही र हीरा भुजेलले गोल गरेका थिए । अमृता जैसीले चौथो पेनाल्टी मिस गरेकी थिइन् । उनको प्रहार जोर्डनकी गोलरक्षक स्रेरिन आइसलबेले रोकेकी थिइन् ।

जोर्डनले वाफको उपाधि जितेको यो छैटौँ पटक हो । फाइनल खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

निर्धारित ९० मिनेटको खेलमा नेपाल र जोर्डन २–२ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । नेपालले खेलको इन्जुरी समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरी गरेको थियो ।

यसअघि नेपालले खेलको २८औँ मिनेटमा शुरुआती गोल गरे पनि खेलको ७६औँ मिनेटमा जोर्डनले गोल गर्दै खेल बराबरी गरेको थियो । 

८८औँ मिनेटमा जोर्डनले दोस्रो गोल गरेको थियो । नेपालका लागि सबिता राना मगरले पहिलो गोल गरेकी थिइन् भने गीता रानाले पेनाल्टी गोल गरेकी थिइन् ।

नेपालले उपाधि हारे पनि आमन्त्रित टिमको रुपमा पहिलो सहभागितामा आफू भन्दा अब्बल टिमहरुलाई हराएर फाइनलमा पुगेको थियो । फाइनलमा पनि शानदार प्रदर्शन गरेको थियो । 

नेपाल मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डन सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

नेपालले समूह चरणको पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले, दोस्रो खेलमा इराकलाई ५–० गोल अन्तरले र तेस्रो खेलमा प्यालेस्टाइनलाई ४–० गोल अन्तरले हराएको थियो । 

फाइनलमा नेपालका लागि सर्वाधिक गोल गरेकी खेलाडी सावित्रा भण्डारी साम्बाले भने खेलेकी थिइनन् । सावित्रा फ्रेन्च क्लब इभी गुइन गाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नभएकी हुन् । 

सावित्रालाई गुइनगाम्पले फिफा विन्डो अन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा बिहीबारको फाइनल खेल फिफा विन्डो पछि भएको हुनाले सावित्रा फाइनल खेलमा उपलब्ध नभएकी हुन् । फिफा विन्डो फेब्रुअरी १९ देखि २८ सम्म रहेको थियो । 

साम्बा नहुँदा नेपाल फाइनलमा शुरुआतदेखि नै दबाबमा रहेको थियो । 

साम्बा प्रतियोगितामै सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले ९ गोल गरेकी थिइन् । तर साम्बा नहुँदा पनि नेपाली टिमले शानदार प्रदर्शन गर्यो । 
 

नेपाल उपाधि नजिक पुगेर पनि चुकेको छ । सन् १९८६ देखि अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेको नेपालले अहिलेसम्म कुनै उपाधि जितेको छैन । वाफ जस्तो ठूलो प्रतियोगितामा रवाफिलो प्रदर्शन गरेर मन भने जित्न सफल भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ