arrow

सत्ता गठबन्धनमा कम्पन देखिँदा बालकोटमा एमाले नेताहरु उत्साही

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
prachanda-oli-2080-always-2.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्ता गठबन्धनभित्र खटपट चलिरहेको अवसरलाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर नेकपा एमालेले पदाधिकारीहरुसँग छलफल गरेको छ । आइतबार राति अबेर एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित भेला भएका नेताहरुबीच सत्ता गठबन्धनमा देखिएको समस्या र संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकबारे छलफल गरेको हो । 

राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवारीबारे सत्ता पक्षका मुख्य दुई घटक नेपाली कांग्रेस र माओवादी केन्द्रबीच खटपट चलिरहेका बेला विपक्षी दुई दलका शीर्ष नेताहरुसँग प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार साँझ एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेतासँग बालुवाटारमा छलफल गरेपछि थप समस्या निम्त्याएको छ ।

उक्त छलफल टीआरसीलाई सर्वसम्मत गर्नका लागि भएको बताइए पनि प्रचण्डको यसअघिदेखि ओलीसँग गोप्य वार्ता र माओवादीका नेताहरु पटक पटक बालकोट गएर छलफल गरिरहँदा थप चलखेल भइरहेको बुझ्न सकिन्छ । 

 ‘वालुवाटारमा प्रचण्डसँग भएको छलफलपछि पदाधिकारीहरुबीच थप छलफल भएको हो’, बालकोट पुगेका एक पदाधिकारीले भने । उनका अनुसार अहिले नै सत्तामा धमिरा लागिसकेको र अझै केही समय पर्ख र हेरको अवस्थामा रहेको निचोड निकालिएको थियो । 

‘गत वर्ष पुस १० मा भएको सहमतिलाई फागुनमा प्रचण्डले दिएको धोकालाई एमालेले सामान्य रुपमा लिएको छैन त्यसकारण अहिले नै प्रचण्डको ललिपपमा एमाले फस्ने वाला छैन’, सहभागी एक पदाधिकारीले भने । 

एमाले अध्यक्षको छलफलपछि बालुवाटारमा प्रधानमन्त्रीसहित माओवादीका नेताहरुले पनि छलफल गरेको स्रोतको दाबी छ । 

बालुवाटारमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, शक्तिबहादुर बस्नेत लगायतका नेताहरु सहभागी भएको स्रोतले जनाएको छ । 

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदबाट पास हुने कुरामा समस्या आए पनि प्रधामनन्त्री अत्तालिएर आफू निकटका नेताहरु र विपक्षी दलका नेताहरुसँग छलफल गरेको बुझिएको छ । 

तर यही छटपटी र सत्ता गठबन्धनको खटपटलाई सदुपयोग गर्दै बालकोटमा नेताहरुबीच सहकार्यका लागि थप उत्साह देखिएको बताउन थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ