arrow

गाली र आलोचना गरेर मात्रै देश बन्दैन – सहमहामन्त्री डिना

logo
भरत प्रधान, 
प्रकाशित २०८० फागुन २१ सोमबार
dina-portugal-24.jpg

लिस्बन । नेपाली कांग्रेसकी सहमहामन्त्री एवं पूर्व मन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले गाली र आलोचना गरेर मात्रै देश नबन्ने बताएकी छिन् । 

नेपाली कांग्रेसको प्रवासी भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलले राजधानी लिस्बनमा आयोजना गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै डिनाले देश बनेन भनेर आलोचना गर्दैमा र नेताहरुलाई गाली गर्दैमा देश नबन्ने बताएकी हुन्् । उनले देश बनाउनका लागि सकारात्मक मानसिकताका साथ परिवर्तनको बाटोमा लाग्नुपर्ने बताइन् ।

विदेशमा जस्तोसुकै काम गर्न तयार हुने तर आफ्नो देशमा केही गर्न तयार नहुने प्रबृत्तिका कारण बेरोजागारी बढेको बताउँदै उनले श्रमको सम्मान गर्न सके नेपालमा पनि पर्याप्त रोजगारी उपलब्ध हुन सक्ने धारणा ब्यक्त गरिन् । कोही पनि नेपाली भोकमरी र खानै नपाएका कारण देश छोड्न बाध्य नभएको दाबी गर्दै उनले नेपाली भएर नेपालीलाई गाली नगर्न आग्रहसमेत गरिन् ।

 ‘नेपालमा बेरोजगारी छ । युवाले रोजगारी पाएका छैनन् । हो, शिक्षा स्वास्थ्य जस्ता आधारभूत कुरामा सोँचे जस्तो भएको छैन । तर खानै नपाएर भोकमरी लागेर देशै छाडेर हिँडेका छैनन्’, गलत मानसकिता त्याग्न आग्रह गर्दै डिनाले भनिन् । 

नेपालको विकासलाई युरोपको विकाससँग तुलना गर्नु सान्दर्भिक नहुने तर्क गर्दै उनले देश कसरी सम्बृद्ध बनाउने भन्ने विषयमा सबै नेपाली एकजुट भएर लाग्नुपर्नेमा जोड दिइन् ।  

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री बहादुर सिंह लामाले आरोप प्रत्यारोप र नकारात्मक मानसिकता त्यागेर देशको विकास र सम्बृद्धिका लागि सबैले आफूलाई सुधार गरेर अगाडि बढ्नुपर्ने बेला आएको बताए । 

उनले राजनीतिक संघर्षबाट धेरै उपलब्धि हासिल भएको बताउँदै दायित्वबोध र जिम्मेवारीबोध नहुँदा विकासले गति लिन नसकेको धारणा ब्यक्त गरे । पोर्चुगलबासी नेपालीमा देखा परेका समस्याहरुको समाधान क्रमिक र प्रकृयागत रुपमा भइरहेको बताउँदै नेता लामाले विदेशमा सिकेका सीपलाई देश निर्माणमा लगाउन प्रवासी नेपालीलाई आग्रहसमेत गरे । 

कार्यक्रममा कांग्रेसका काभ्रे जिल्ला सभापति एवं बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री तीर्थबहादुर लामा, पार्टीका केन्द्रीय सदस्य नानुमाया बास्तोलाले शुभकामना मन्तब्य दिएका थिए । 

समितिका सभापति युवराज पन्थीको सभापतित्व, उपसभापति बिपिन अर्यालको स्वागत तथा महामन्त्री अर्जुन अर्यालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति पोर्चुगलका संस्थापक सभापति पूर्णबहादुर हमाल, पूर्व सभापति लक्ष्मी प्रसाद सापकोटा, पोर्चुगलका लागि पूर्व पर्यटनदूत रमेश कुमार  गुरुङ, गैर आवासीय नेपाली संघका आईसीसी सदस्य राजकुमार थापा, संघका पोर्चुगल अध्यक्ष उमेश खड्का लगायतले बोलेका थिए । 

सो अवसरमा सहभागीहरुले पोर्चुगलमा रहेका नेपालीले झेल्नुपरेका समस्या, राहदानी लगायतका कागजात सम्बन्धी समस्या, शव ब्यबस्थापन, दूतावास आउन भएको ढिलाई लगायतका बिषयहरुको उठान तथा ध्यानाकर्षण गराएका थिए । 

स्पेनमा आयोजित सोसलिस्ट ईन्टरनेशनलको कार्यक्रममा भाग लिन युरोप आएका कांग्रेस नेताहरु पोर्चुगलको कार्यक्रममा सहभागी भई शनिबार बेल्जियमतर्फ प्रस्थान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ