- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनेपछि संघदेखि प्रदेशसम्म एकैपटक प्याकेजमा सहमति गर्ने गरी चार दलका नेताहरु शक्ति बाँडफाँटमा लागेका छन् ।
चार दलका नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा जुटेका हुन् । बैठकमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाका शीर्ष नेताहरु सहभागी भउका छन् ।
बैठकले प्याकेजमै एकैपटक संघदेखि प्रदेशसम्मको भागबण्डा अनि प्रतिनिधि सभादेखि राष्ट्रिय सभासम्मको सबै भागबण्डा गर्ने जनाइएको छ । यद्यपि सोमबार नै सबै सहमति हुनेमा भने शंका छ ।
किनकि बैठकमा अर्को नयाँ गठबन्धनका लागि आमन्त्रित दल नेकपा एकीकृत समाजवादी छैन ।
यद्यपि जति सहमति हुन्छ त्यसलाई लिखित दस्तावेजका रुपमा लिएर जाने एक खालको सहमति भएको बताइएको छ । कसले कुन मन्त्रालय लिनेदेखि, कति जना कुन दलबाट मन्त्री बन्ने तथा प्रदेशहरुमा कसको नेतृत्वमा सरकार बन्ने लगायतका मोटामोटी सहमति गर्ने बुझिएको छ ।
यसअघि नयाँ गठबन्धनले भागबण्डा मिलाउन चार सदस्यीय कार्यदल बनाएको थियो । जसमा एमालेबाट विष्णुप्रसाद पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन् ।
बालुवाटारको बैठकमा यी नेताहरुसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीबाट नारायणकाजी श्रेष्ठ, रास्वपाबाट स्वर्णिम वाग्ले तथा जसपाबाट राजेन्द्र श्रेष्ठ पनि सहभागी रहेका छन् ।