- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालले भुटानमाथि ३–० को जित निकाल्दै घरेलु मैदानमा जारी साफ यू–१६ महिला साफ च्याम्पियनशिप फुटबलमा पहिलो सफलता हासिल गरेको छ ।
यसअघि नेपालले पहिलो खेलमा बंगलादेशसँग २–० को हार बेहोरेको थियो । सोमबार कमजोर प्रतिस्पर्धी भुटानविरुद्ध भने नेपालले सहज जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपालको जितमा पूजा गिरी, कप्तान भुमिका बुढाथोकी र ज्ञान्सु डोल्मा लोले गोल गरे । यो जितसँगै दुई खेलबाट नेपालले तीन अंक जोड्दै फाइनल सम्भावनालाई जीवितै राखेको छ ।
लगातार हारपछि भुटानको भने फाइनल सम्भावना सकिएको छ । भुटानले पहिलो खेलमा भारतसँग ७–० ले नतिजा सुम्पिएको थियो ।
अब नेपालले बिहीबार भारत तथा भुटानले शुक्रवार बंगलादेशको सामना गर्नेछन् ।
त्यसअघि मंगलवार बंगलादेश र भारतबीचको खेल हुनेछ । चार राष्ट्रको प्रतिष्पर्धा रहेको साफ यू–१६ नेपालमा शुक्रवारदेखि शुरु भएको हो ।
बंगलादेशले एक खेलबाट तीन अंक जोड्दा समान खेलबाट भारतको पनि तीन अंक नै छ ।