arrow

इलाम-२ मा उपनिर्वाचन अघि अन्तर्क्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
iIllam-district.png

इलाम। इलाम निर्वाचन क्षेत्र नं २ मा आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्लाका सरोकारवालाको अन्तर्क्रियाले विभिन्न निर्णय गरेको छ । 

जिल्ला निर्वाचन कार्यालयले फागुन २३ गते आयोजना गरेको अन्तक्र्रियामा निर्वाचनमा सहयोग र समन्वयसम्बन्धी निर्णय गरिएको हो । 

कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूका अनुसार फागुन २८ गतेदेखि चैत ५ सम्म मतदाता नामावली अद्यावधिक तथा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । 

जिल्लामा क्रियाशील सबै राजनीतिक दलहरूबाट जिल्लाका आफू मातहत सबै तहमा आवश्यक सहयोग, समन्वय र प्रचारप्रसारलगायत कार्यमा आवश्यक सहजीकरण गर्न निर्देशन दिने निर्णय पनि भएको कार्यालयले जनाएको छ । 

आयोगको परिपत्रअनुसार उपनिर्वाचनका लागि सहयोग, समन्वय र सहजीकरणका लागि जिल्लाका ८१ वटै वडा सचिवलाई निर्देशन दिने निर्णय पनि भएको छ । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यमा भएको अन्तक्र्रियामा विभिन्न राजनीतिक दल, कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, पत्रकारलगायत सहभागाी थिए । उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता चैत २४ लाई तोकिएकोे छ । 

आयोगका अनुसार चैत २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ भने फागुन २४ देखि ३० सम्मको म्याद दिई राजनीतिक दल दर्ताको सूचना प्रकाशन गरिनेछ ।

चैत २२ गते मुख्य निर्वाचन अधिकृत नियुक्त गरी त्यसै दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदैछ । 

चैत २८ देखि वैशाख १२ प्रचारको अवधि राखिएको छ भने वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ