arrow

धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्दै हाइकर्स क्लब

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
hikers-pokhara.jpg

पोखरा । तनहुँको म्याग्दे गाउँपालिका-३, किलचोकस्थित अकला मन्दिर यस क्षेत्रमा प्राचीनकालदेखि धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित तीर्थस्थलमध्येको एक हो ।

प्राकृतिकरुपमा शिलामा कुँदिएका देवीका मूर्तिसँगै रहेका सिंह र नन्दी एवं विभिन्न देवी देवताका मूर्तिका आकृति नै यहाँका विशेष आकर्षण हुन् ।

विशेषतः रातिको समयमा मन्दिर परिसरमा शङ्खघण्ट बज्ने गरेको विश्वासले यहाँको गरिमा र महत्व अझै बढाएको स्थानीयवासी बताउँछन् ।

अकला मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनका लागि पछिल्ला समयमा सरकारी चासो र चर्चा बढिरहेको छ भने विभिन्न सामाजिक सङ्घसंस्थाले यसको प्रवद्र्धन र विकासलाई जोड दिएका छन् ।

पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवर्द्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ४४औँ शृङ्खला किल्चोकस्थित अकला मन्दिर र आसपासका पर्यटकीय गन्तव्यलाई लक्षित गरी सम्पन्न गरेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले बताए ।

“हामी प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवर्द्धन गरिरहेका छौँ”, उनले भने, “सम्भावना भएर पनि प्रवर्द्धनका दृष्टिले पछाडि परेका गन्तव्यलाई उजागर गर्नु हाम्रो अभियानको मुख्य उद्देश्य हो ।”

पोखरामा रही विभिन्न सेवा पेसा र व्यवसायमा आबद्ध व्यक्ति क्लबमा आबद्ध भएको बताउँदै उनले पछिल्ला समयमा हाइकिङप्रतिको आकर्षण दिनानुदिन बढ्दै गएको बताए ।

हाइकिङको ४४औँ संस्करणमा ३७ जना सहभागी बनेको जानकारी दिँदै अध्यक्ष रानाभाटले पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका-३ धयेँरे चोकबाट सुरु भएको हाइकिङ बडगाउँ, किल्चोक अकला, बहपुर गाउँ, थानतिङ हुँदै जामुने कमलकोटीसम्म गरिएको बताए ।

स्थानीयको जागरुकता हुने हो भने एकदिवसीय हाइकिङका लागि धयेँरेदेखि जामुने कमलकोटीलाई उपयुक्त गन्तव्य बनाउन सकिने उनको भनाइ छ ।

प्राचीनकालदेखि यस क्षेत्रकै महत्वपूर्ण धार्मिक आस्था एवं विश्वासको केन्द्र बनिरहेको अकला मन्दिर र आसपासका क्षेत्रलाई उजागर गर्न हाइकिङ महत्वपूर्ण बनेको उल्लेख गर्दै उनले पछिल्ला समयमा रमणीय गाउँहरू मानवविहीन बन्दै जानु गम्भीर चुनौतीका रुपमा रहेको बताए ।

यहाँस्थित मन्दिरभित्रको विशाल शिलालाई परापूर्वकालदेखि नै अकलादेवीका रुपमा पूजाआजा गर्ने गरिएको स्थानीयवासी बताउँछन् । मनले चिताएको पुग्ने विश्वासका कारण तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ गोरखालगायत स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

परापूर्वकालमा यही किल्चोक अकला हुँदै सेती नदी बग्न थाल्दा देवीको शक्तिका कारण यहाँबाट रोकिएर अर्को मार्गबाट बग्न थालेको किंवदन्ती रहेको स्थानीय समाजसेवी हरेराज बगालेले बताए ।

मन्दिरको महिमा र गरिमालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०५५ मा योगी नरहरिनाथले ८५औँ कोटीहोम लगाएका थिए । समय-समयमा अकला मन्दिरमा आउने साधुसन्तले यस तीर्थस्थलको विशिष्ट महत्व एवं धार्मिक शक्ति रहेको बताउने गरेको स्थानीय बताउँछन् ।

गत वर्ष पुनःनिर्माण गरिएको अकला मन्दिरको उद्घाटन समारोहमा भारतको काशीदेखि आएका जगद्गुरु शङ्कराचार्य अनन्त श्रीविभूषित स्वामीनरेन्द्रनन्द सरस्वतीले यस तीर्थस्थलको विशिष्ट महिमा रहेको बताउनुले पनि यसको धार्मिक महत्वलाई थप उजगार गरेको स्थानीयवासीको तर्क छ ।

रातको समयमा मन्दिरको घन्टा आफैँ बज्नु, मन्दिर परिसरस्थित कटहरको बोटमा बाह्रैमहिना कटहर फल्नु, मन्दिरको पारी रहेको रुद्रदेवी मन्दिरको विशाल शीलालाई जो कोहीले पनि हल्लाउन सक्नुलाई स्थानीयले यहाँको दैवी शक्तिका रुपमा लिने गरेका छन् ।

मन्दिरको दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँसहित आसपासका कास्की, स्याङ्जा, लमजुङलगायतका स्थानबाट दर्शनार्थी भाकलसहित पूजाआजा गर्न आउने गरेको बगालेले बताए ।

परापूर्वकालदेखि व्यक्तिगत वा पारिवारिक जस्तोसुकै समस्यामा पनि अकलादेवीलाई सम्झेपछि समस्या समाधान हुने, बोली आउन नसकेका बालबालिकाको बोली आउने आदि विश्वासका कारण पनि यस तीर्थस्थलप्रतिको आस्था एवं विश्वास निरन्तर बढ्दै आएको स्थानीयवासीको तर्क छ ।

मन्दिरको संरक्षण र विकासमा जोड दिँदै पछिल्लो समयमा मन्दिरसहित शिवालय, सत्तल आदि निर्माण गरिएको छ । धार्मिक महत्वका गन्तव्यहरूको प्रवर्द्धन गर्न सकेमात्रै पनि धार्मिक पर्यटनका गतिविधि बढ्ने र त्यसलेस्थानीयलाई फाइदा पुग्ने पत्रकार सञ्जय आचार्यले बताए ।

“हामीले हाम्रा ऐतिहासिक एवं धार्मिक सम्पदालाई अझै पनि पर्यटनसँग जोड्न सकेका छैनौँ”, आचार्यले भने, “आफ्ना स्थानको महत्वलाई उजागर गर्दै पर्यटकीय प्रवर्द्धन लागि पहिलो सक्रयता त्यहाँ बसोबास गर्ने स्थानीयवासीको नै हुन्छ ।”

पछिल्लो समय अधिकांश रमणीय गाउँ बस्तीविहीन बन्दै जानु गम्भीर चुनौती बनेको बताउँदै उनले धार्मिक एवं ऐतिहासिक सम्पदालाई पर्यटनसँग जोड्दै उत्पादन बढाउनसके बढ्दो युवा पलायनलाई रोक्न सकिने धारणा राखे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ