arrow

दमौलीमा घर भत्काउन थालियाे

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
Damauli-Sadakkalopatrephoto3(1).JPG
फाइल तस्बिर

तनहुँ । मुग्लिन-पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँको सदरमुकाम दमौलीका बासिन्दाले मुआब्जा लिएर घर भत्काउन थालेका छन् ।

दमौलीमा भत्किने सत्तरी घरमध्ये ५० जनाले पहिलो किस्ता बापतको मुआब्जा बुझेर घर भत्काउन सुरु गरेका हुन् ।

पहिलो किस्ता लिएकामध्ये तेह्र जनाले आफैँ घर भत्काउन सुरु गरेका छन् । जिल्लाको बन्दीपुर डुम्रेदेखि दमौलीतर्फ सडक विस्तारका कार्य अघि बढाइएपछि सडक मापदण्डमा पर्ने दमौलीका घर भत्काउन थालिएको हो ।

घर भत्काइसकेपछि बाँकी दोस्रो किस्ता बापतको मुआब्जा प्रदान गरिने मुग्लिन-पोखराको पूर्वी खण्डका इञ्जिनीयर विष्णु पाण्डेले जानकारी दिए ।

दमौलीका घरका लागि करिब रु ६ करोड मुुआब्जा वितरण गरिनेछ, उनले भने, “वर्तमान सडकको डिजाइनअनुरुप सडक केन्द्रबाट दायाँबायाँ २३/२३ मिटरको हुनेछ ।”

दमौलीका घर बचाउनका लागि मापदण्ड घटाइयो भनेर गलत प्रचार गर्ने कार्य भएको हुँदा सडकको मापदण्ड फेरबदल हुन नसक्ने उनले बताए ।

पृथ्वीराजमार्ग सडक अन्तर्गत पूर्व-पश्चिम गरी दुई खण्डमा यतिबेला सडक विस्तारका कार्य तीव्र गतिमा भइरहेको छ । हालको भौतिक प्रगति अनुरुप पूर्वी खण्डमा ५१ प्रतिशत र पश्चिम खण्डमा १७ दशमलव पाँच प्रतिशत रहेको छ ।

उनका अनुसार दमौली र डुम्रे बजार क्षेत्रमा छ लेनको सडक बन्नेछ । राजमार्गको अन्य क्षेत्रमा चार लेनको सडक कायम रहेको छ । आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरीमा कालोपत्र गरिसकिएको आयोजनाले जनाएको छ ।

उक्त सडक अन्तर्गत चारलेनको बाह्र किलोमिटर र दुई लेनको आठ किलोमिटर सडक कालोपत्र गरिएको हो । पूर्वी खण्डमा ४१.७ किलोमिटर दूरी रहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो । उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ