arrow

पोखरालाई आज पर्यटकीय राजधानी घोषणा गरिँदै, प्रधानमन्त्री शनिबारदेखि पोखरामै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
pokhara-valley-city.jpg
तस्बिर-फाइल

पोखरा । लामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि अब भने औपचारिकरूपमै पोखरा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ ।

पोखरा महानगरपालिकाले आज औपचारिक कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी पूरा भएको छ । आज बिहान सवा ११ बजे सुन्दर फेवातालको किनार बाराहीघाटमा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम रहेको छ ।

घोषणासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजै पोखरा आइसकेका छन् । त्यसअघि लेकसाइडस्थित बसुन्धरा पार्कबाट र्‍याली सुरु भइ कार्यक्रमस्थलमा पुगी औपचारिक कार्यक्रममा परिणत हुनेछ ।

सो अवसरमा पोखराका लेखक वरिष्ठ साहित्यकार, भाषाविद् प्राडा मुकुन्दशरण उपाध्याय, भूगोलविद् स्वर्गीय डा हर्क गुरुङ मरणोपरान्त सम्मान, सुप्रसिद्ध गायक, सङ्गीतकार तथा साहित्यकार स्व प्रेमप्रकाश मल्ललाई सम्मान गरिने पोखरा महानगर प्रमुख धनराज अचार्यले जानकारी दिए ।

यसैगरी वरिष्ठ गायिका प्राज्ञ हरिदेवी कोइराला, कन्दरा ब्याण्ड मुख्य गायक (भोक लिस्ट) विवेक श्रेष्ठ, गायक प्रमोद खरेल, गायक प्रकाश सपुत, पोखरेली गायक धर्मेन्द्र सेवानका साथै गण्डकी प्रज्ञा प्रतिष्ठान/पोखरा प्रज्ञा प्रतिष्ठानका कलाकारको साङ्गीतिक प्रस्तुति रहनेछ ।

महानगर प्रमुख आचार्यले २०७५ सालदेखि नै यस विषयमा अध्ययन भइरहेको र पर्यटकीय राजधानी घोषणाका लागि आधारभूत मापदण्ड पोखरासँग भएकाले घोषणा गरेर पोखरालाई अन्तर्राष्ट्रिय जगतमा ‘ब्राण्ड’ बनाउन लागिएको बताए ।

महानगर प्रमुख आचार्यले पर्यटन क्षेत्रको विकासमा पर्यटन प्रवर्द्धनात्मक क्रियाकलाप महत्त्वपूर्ण मानिने र राजधानी घोषणा गर्दा पर्यटन प्रवर्द्धनमार्फत जनताको जीवनस्तरमा गुणात्मक परिवर्तनसहित सुधार, रोजगारी सिर्जना र गरिबी निवारणमा उल्लेखनीय प्रगतिलगायत दिगो पर्यटन विकासमा टेवा पुग्ने बताए ।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मी बस्नेतले पर्यटकीय सहरलाई राजधानी घोषणासँगै थप विशेषतालाई उजागार गरेर उत्कृष्ट गन्तव्यको पहिचानसहित पोखरा ‘ब्राण्डिङ’ हुने बताइन् । उनका अनुसार पर्यटकीय राजधानीको आवश्यक मापदण्ड र प्रक्रियाका विषयलाई पनि ध्यान दिएर घोषणा गर्न लागिएको हो । सबैको साझा सोँच र अपनत्वले यो सफल हुने उनको दावी छ ।

प्रदेश सरकार र महानगरपालिकाले संयुक्तरूपमा यस क्षेत्रमा रहेका अद्वितीय पर्यटकीय गन्तव्यका कारण गण्डकी प्रदेशलाई पर्यटनको हब र पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरी दिगो पर्यटनको विकासमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ गर्ने दिशामा अगाडि बढेको उनको भनाइ थियो ।

यसरी भयो तयारी

आज पर्यटकीय राजधानी घोषणा गर्ने समारोहलाई भव्य बनाउका लागि पोखरा महानगरका प्रमुख धनराज आचार्यको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको थियो ।

सो समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सबै सचिव, पोखराका छिमेकी पालिका रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण, स्याङ्जाको फेदीखोला, तनहुँको शुक्लागण्डकी, पर्वतको कुश्मा र मोदी गाउँपालिकाका अध्यक्ष, पर्यटन सङ्घ संस्थालगायत छन् ।

राजधानी घोषणा समारोहलाई भव्य बनाउन र यसको महत्वलाई अन्तर्राष्ट्रियस्तरमा समेत बुझाउनका लागि नेपालस्थित चीन र भारतका राजदूत र विभिन्न देशका नेपालस्थित कूटनीतिक नियोगका प्रमुखलाई आमन्त्रण गरिएको छ ।

प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि अध्ययन समिति गठन गरेको थियो ।

सो समितिले गत फागुनमा प्रतिवेदन सरकारलाई बुझाएको थियो । मूल संयोजक एवं पोखरा महानगर प्रमुख आचार्यले घोषणा समारोहलाई उत्सवका रुपमा मनाउन लागिएको हो । पोखरा पर्यटनको पर्यावाची भएकाले धेरै लामो छलफल र अध्ययनपछि औपचारिक रुपमा राजधानी घोषणा गर्न लागिएको छ ।

पोखरा के हो भन्नेमा कुनै दुविधा छैन । पोखरा पर्यटनको केन्द्र हो, गन्तव्य हो र पर्यटनको पर्यायवाची हो । पर्यटकीय राजधानी घोषणासँगै गण्डकी प्रदेशसहित समग्र देशको समृद्धिमा टेवा पुग्ने विश्वास लिइएको छ ।

पर्यटकीय राजधानी घोषणपछि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकतालगायतमा सुधार हुने अपेक्षासमेत गरिएको छ ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । व्यवसायीले लामो समयदेखि राजधानी घोषणा गर्न माग गर्दै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ