arrow

सहकारी ठगीमा उस्तै आरोपः दीपेश अनुसन्धानमा, रवि गृहमन्त्रीको आसनमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
ravi-dipesh-pun.jpg
तस्बिर – फाइल, बायाँ गृहमन्त्री लामिछाने, दायाँ दीपेश पुन ।

काठमाडौँ । पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलाई सुन प्रकरणमा पक्राउ गरिएको भनिए पनि सहकारी ठगीमा अनुसन्धान शुरु गरिएको छ । 

बुटवलको सुप्रिम बचत तथा ऋण सरकारीको ७८ करोड रकम अपचलन गरेको आरोपमा प्रहरीले सहकारीका पूर्वसचिव दीपेश पुनलाई पक्राउ गरेर अनुसन्धान गर्न थालिएको हो । 

पीडितले सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु (जीबी) राई र सचिव पुनलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै आए पनि उनलाई पक्राउ गरिएको थिएन । 

सुप्रिम सहकारीका यसअघि पक्राउ परेका अध्यक्ष ओमप्रकाश गुरुङ, भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेय चापागाईं, पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक कुमार रम्तेल र आईटी प्रमुख भविश्वर अर्यालसँगको बयानका आधारमा प्रहरी केन्द्रीय कार्यालयले शुक्रबार काठमाडौँबाट पुनलाई पक्राउ गरेर भैरहवा पठाएको थियो । रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार पुनलाई आजै जिल्ला अदालतबाट समय लिएर अनुसन्धान शुरु हुनेछ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका व्यवशायीक साझेदार समेत रहेका पुनलाई सुन तस्करीको प्रकरणमा पक्राउ गरिएको हल्ला गरेर सहकारी ठगीमा अनुसन्धान शुरु गरिएको हो । 

प्रहरीकाअनुसार इलाका प्रहरी कार्यालय बुटवलले झन्डै एक महिनादेखि सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान गरिरहेको छ । पोखरामा पक्राउ परेका रम्तेल र अर्याललाई पनि बुटवल पुर्याएको छ ।  

बुटवलमा २०५७ सालमा दर्ता भएर सञ्चालनमा रहेको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरेर २०७२ फागुन १ मा सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाइएको थियो । 

फागुन ३० को साधारण सभाबाट ओखलढुंगाका जीबी अध्यक्षमा र रोल्पाका दीपेश कोषाध्यक्षमा चयन भएका थिए । 

२०७६ कात्तिक १६ मा भएको अर्को साधारण सभाबाट दीपेश सचिव बनेका थिए । उनी सचिव रहेकै बेला सहकारीको ७८ करोड बढी रकम अपचलन भएको प्रहरीले जनाएको छ । 

सो सहकारीको रकम रवि लामिछानेको खातामासमेत ट्रान्सफर भएको देखिएकोमा अहिले पुन मात्रै पक्राउ परेका छन् । लामिछाने भने गृहमन्त्रीको आसनमा रहेका छन् ।


२०७७ फागुन ११ मा ग्यालेक्सी टेलिभिजनको घोषणा भएको थियो । टेलिभिजनमा रविले नगद लगानी नगरेको र काम गरेबापत हिस्सा (स्वेट सेयर) पाएको सार्वजनिक दाबी गरे पनि उनलाई बुटवलकै सुप्रिम सहकारीबाट पैसा ट्रान्सफर भएको देखिएको थियो । 

गोर्खा मिडिया नेटवर्कमा लामिछानेको तर्फबाट कम्तीमा एक करोड रुपैयाँ जम्मा भएको भौचर नै सार्वजनिक भएको थियो । 

सर्वसाधारणले सहकारीमा जम्मा गरेको बचतबाट गरेको खुलेको थियो । टेलिभिजन घोषणा भएको दुई महिना अर्थात् २०७८ वैशाख ५ ९१८ अप्रिल २०२१० मा ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडिया नेटवर्कको खातामा लामिछानेका तर्फबाट एक करोड जम्मा भएको थियो  । 

यो रकम बुटवलस्थित सुप्रिम सहकारीको खाताबाट गोर्खा मिडिया नेटवर्कको खातामा सिधै ‘ट्रान्सफर’ भएको थियो । रकम जम्मा भएको ५ महिनापछि २०७८ असोज १५ मा ग्यालेक्सी टेलिभिजन प्रसारणमा आएको थियो भने त्यसको एक सातापछि २०७८ असोज २३ मा गोर्खा मिडिया नेटवर्कले कम्पनी रजिस्ट्रारबाट शेयर लगत पाएको थियो । शेयर किताबअनुसार अध्यक्ष राईको ८५ प्रतिशत र लामिछानेको १५ प्रतिशत सेयर कायम भएको थियो । 

खाता नम्बर ०४०१०१००००५७७ मा रकम जम्मा गर्नेका नाममा रवि लामिछाने, रोशनी गुरुङ लेखिएको छ । रकम ‘ट्रान्सफर’ गर्न सहकारीकै कर्मचारी रोशनीलाई खटाइएकाले उनले जम्मा गरेको बताइएको थियो ।

दीपेश शुक्रबार राति पक्राउ परेका र शनिबार बिदा भएकाले आइतबार म्याद लिएर अनुसन्धान अघि बढ्ने एसपी राठौरले बताए । 

संस्थापक कोषाध्यक्ष र पछिल्लो तीन वर्ष सचिव रहेको सुप्रिममा बचतकर्ताको करोडौं रकम अपचलन भएको सार्वजनिक भए पनि उनी सत्ता र शक्तिको आडमा अनुसन्धानबाट उन्मुक्ति पाइरहेका थिए  । 

सुप्रिमका १० हजार ३ सय ९१ बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार रुपैयाँ संकलन गरेकामा ७८ करोड ५० लाख रुपैयाँ पदाधिकारीले नै अपचलन गरेको बचतकर्ताको उजुरी छ ।

६५ करोडभन्दा बढी ऋण लगानी संस्थाका भूतपूर्व अध्यक्षलगायतका व्यक्तिहरू र कम्पनीमा सहकारीको मूल्यमान्यताविपरीत गरिएको देखिएको थियो ।  

दीपेश सचिव भएकै समयमा सुप्रिमका संस्थापक अध्यक्ष तथा अहिले संरक्षक रहेका जीबी र उनी संलग्न विभिन्न पाँचवटा कम्पनीलाई मात्र ७८ करोड ५० लाख ७६ हजार ६ सय ६५ रुपैयाँ ऋण दिइएको थियो । 

राईले आफू अध्यक्ष रहेकै बखत आफ्ना विभिन्न चार कम्पनीका नाममा १३ करोड ७० लाख ९२ हजार २ सय ७० रुपैयाँ ऋण लगेका थिए ।
 
राईले २०७६ कात्तिक १६ मा राजीनामा दिएपछि त्यही दिन संस्थाको अध्यक्ष ओमप्रकाश गुरुङ र सचिवमा दीपेश चयन भएका थिए । 

गुरुङ अध्यक्ष र दीपेश सचिव भएपछि गोर्खा मिडिया नेटवर्कबाहेकका राई र उनका ४ वटा कम्पनीमा मात्र ६४ करोड ७९ लाख ८३ हजार रुपैयाँ ऋण लगानी भएको थियो । 

सुप्रिम सहकारीको बुटवल र भैरहवा कार्यालयबाट संकलन भएको १ अर्ब ७ करोडमध्ये अध्यक्ष जीबी र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने रहेको गोर्खा मिडिया नेटवर्कका नाममा १० करोड ७४ लाख रुपैयाँ ऋण प्रवाह भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ