arrow

१० साथी युद्धभूमिमै ढले, रुस–युक्रेन युद्धको अग्रमोर्चामा खटिएका उनी भागेर स्वदेश फर्किए

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
russia-usa-attack-ukraine.jpg

कञ्चनपुर।  रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किएका छन् । रुसी सेनाबाट भागेर उनी शुक्रबार भारतको दिल्ली हुँदै स्वदेश फर्किएका हुन् । 

“पछिल्लो तीन महिनादेखि तलब पाइएन । खाना नपाएर साह्रै गाह्रो भयो । रुसी सेनाले नेपालीसँग भएको पैसा, खाना लुट्ने र अग्रमोर्चामा युद्धका लागि खटाउँथे”, उनले भने, “त्यसपछि भागेर आएको हिँडे ।”

उनी रुस–युक्रेन युद्धमा अग्रमोर्चामा खटिएका थिए । उनी अन्य १० जना साथीसँगै गत भदौ १ ‘भिजिट भिसा’मा रुस गएर सेनामा भर्ती भउका थिए । परिवारका जेठा छोरा उनी ऋण तिर्न पैसा कमाउन अर्को ऋण काढेर रुसी सेनामा पुगेका थिए । 

घर फर्किंदा रित्तो हात हुनु परेको छ । “घरमा रु ३० लाख ऋण थियो । बुबाले कमाएर तिर्न सक्ने अवस्था थिएन । स्वदेशमा पाइने रु २०-३० हजारको जागिरले ब्याज तिर्न पनि सकिँदैनथ्यो”, उनले भने, “परिवारको बाध्यताले युद्धको भुमरीमा हामफालेँ तर सोचेकोजस्तो भएन ।”

सुरुआतमा रुसी सरकारले तलब दिए पनि पछिल्लो तीन महिनामा तलब पनि नदिएको र भोकभोकै काम गर्न नसकिने अवस्था आएपछि भागेर स्वदेश फिर्ता भएको उनले सुनाए । 

उनका अनुसार घर धितो राखेर रु सात लाख ५० हजार ऋण निकालेर रुस हानिएका हुन् । सँगै रुस गएका अन्य १० साथी युद्धभूमिमै ढलेको उनी बताउँछन् । 

“त्यहाँको अवस्था देख्दा बाँचिएला सोचेकै थिएन । सँगैका सबै साथी मरे । डराएर म पछि पछि लागेर युद्धमा जाने हुनाले बचेँ”, उन भन्नुहुन्छ, “दैनिक ५०-६० जना नेपाली सैनिकमा भर्ती हुन पुग्थे ।” मासिक रु अढाई लाखदेखि पाँच लाखसम्म आम्दानीलगायत प्रलोभनमा परेर रुसी सेनामा भर्ना भइरहेको उनको भनाइ छ । केही महिनाको सैन्य तालिमपछि युद्धका लागि परिचालन गरिएको उनले बताए ।

युद्ध लडिरहेको रुसी सेनाको फौजबाट भागेर राजधानी मस्को पुगेका सिंह घरबाट पैसा मगाएर दिल्ली हुँदै स्वदेश फर्किएका हुन् । मस्कोमा एक दलाललाई रु दुई लाख ५० हजार बुझाएर घर आउन सफल भएको उनी बताउँछन् । 

“तीनजना भागेर मस्को पुगेका थियौँ । सँगै दिल्लीको टिकट काटिएको थियो”, सिंह भन्छन्, “तर विमानमा दिल्ली आउँदा एक्लै थिए । पछि बुझ्दा एकजनालाई अध्यागमले समातेको रहेछ ।” रुसी सेनामा भर्ना भएका नेपालीको अवस्था दयनीय रहेको उनी सुनाउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ