arrow

दीपक मनाङे फेरि मन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
Deepak-Manange.jpeg
तस्बिर-फाइल

पोखरा । राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यो मन्त्रालयलाई सरकारको सबैभन्दा महत्वपूर्ण मानिन्छ । यसअघि यो मन्त्रालय माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले सम्हालेका थिए । केन्द्रको राजनीतिक समीकरण बदलिएसँगै जुग्जालीलाई मुख्यमन्त्री पाण्डेले हटाएका थिए ।

यसअघि नेकपा (एकीकृत समाजवादी) का सांसद रहेका मनाङेले आइतबार दल त्यागेको घोषणा गर्दै मन्त्री बन्ने बाटोमा लगेका थिए । सोही अनुरुप उनले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाए ।

यस्तै, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कृषि मन्त्री महेन्द्रध्वज जिसीलाई दिइएको छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीको सरकार अल्पमतमा परेको छ । उनले राजनीतिक दाउपेचका बीच मनाङेलाई सत्तामा स्थान दिएका छन् । तर पिन उनी सत्तामा रहिरहन अझै कठिन छ ।

६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसको २७ सीट रहेको छ । सरकारका लागि महमत सिद्ध गर्न ३१ सीट आवश्यक पर्दछ ।

मनाङलाई सत्तामा स्थान दिएपनि मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न अझै तीन सीट पुग्दैन । मुख्यमन्त्रीले दुई सीट रहेको राप्रपालाई फकाउने प्रयास गरिरहेका छन् । तर उनीहरुले केन्द्रको निर्णय कुरेर बसको भन्दै अनिर्णित बनेका छन् । यदि राप्रपाले साथ दिएमा मुखमन्त्रीलाई एक सीट नपुग्ने निश्चित छ ।

यता, एमालेसँग २२ र माओवादी केन्द्रसँग आठ सीट रहेकामा अब राप्रपा अनिवार्य भएको छ । राप्रपाले साथ नदिए एमाले-माओवादीको पनि सरकार नबन्ने निश्चित छ । मनाङे एसमा रहँदा एमाले-माओवादीले नयाँ सरकार गठनका लागि छलफल थालेका थिए ।

मनाङेले आइतबार दल त्यागेको घोषणा गरेपछि प्रदेशको राजनीतिले नयाँ मोड लिएको छ । अब राप्रपाले एमाले-माओवादीलाई साथ नदिए सरकार बन्न कठिन छ । मुख्यमन्त्री पाण्डेले चैत २१ भित्र विश्वासको मत लिनु अनिवार्य छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ