arrow

लगानी सम्मेलनको तयारी

पाँच सयलाई निम्तो पठाइयो, नयाँ अर्थमन्त्रीको सय भन्दा बढी हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
lagani-board.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । बैशाखमा हुन गइरहेको लगानी सम्मेलनका लागि ५०० भन्दा बढी निम्ता पठाइएको छ । सरकारले गर्न लागेको उक्त सम्मेलनका लागि ठूला देशका सो बराबर लगानीकर्तालाई निम्ता पठाइएको हो । 

यसरी करिब पठाइएको निम्तामध्ये १०० भन्दा बढी निम्तोपत्रमा अर्थमन्त्री वर्षमान पुनले हस्ताक्षर गरेका छन् । करिब १५ दिनको अवधिमा सो बराबरको थप निम्ता पठाइएको लगानी बोर्डका प्रवक्ता पद्युम्न उपाध्यायले जानकारी दिए । 

सरकारको तर्फबाट पठाइने निम्तोमा अर्थमन्त्रीले हस्ताक्षर गरेर पठाउने गरिएको छ । अर्थमन्त्री आयोजनाको सबैभन्दा माथिल्लो अर्थात् निर्देशक समितिका संयोजक हुन् । 

पुन आएपछि के के भयो प्रगति ?
सरकारले तदारुकताका साथ गर्न लागेको लगानी सम्मेलनका लागि अर्थमन्त्रीले पर्याप्त ध्यान भने नदिएको पाइएको छ । पुनले लगानी बोर्डका सीईओसँग ब्रिफिङ लिनु र नियमित रुपमा आउने कार्डमा हस्ताक्षर गर्नु बाहेक खासै काम भएको छैन । 

पुन आएको १५ दिन हुन लाग्दा अझै पनि निर्देशक समितिको बैठक बस्न सकेको छैन । बोर्डका प्रवक्ता उपाध्याय उक्त बैठक मंगलबार बस्न सक्ने बताउँछन् । बैठकमा सम्मेलनको बारेमा विस्तृत ब्रिफिङ लिने कार्यक्रम छ । 

अर्थमन्त्री भएपछि पुनले आन्तरिक बजारका व्यवसायिक क्षेत्रलाई चलायमान बनाउने भन्दै कामहरु गरिरहेका छन् । यसले गर्दा सम्मेलनको तयारीमा धेरै ध्यान दिएका छैनन् । 

त्यसो त लगानी सम्मेलनको लागि प्रस्ताव गरिएका कानूनहरु संशोधन गर्ने विधेयक पनि संसदमा दर्ता समेत हुन सकेको छैन । 

सम्मेलनका लागि सरकारले कानूनी सुधार, आमन्त्रण, सम्मेलनको व्यवस्थापन तथा प्रोजेक्टको छनोटसमेत गरी चारवटा सेगमेन्टमा एकैसाथ काम गर्दै आएको छ । निर्देशक समितिको आगामी बैठकपछि चारवटै विधामा ब्रिफिङ र निर्देशन हुने भएकोले त्यसपछि तयारीको कामले गति लिनसक्ने विश्वास बोर्डको छ । 

पूर्ववर्ती गठबन्धन सरकारले सम्मेलनमा भारतीय लगानीकर्तालाई ल्याएर केही दीर्घकालीन महत्वका आयोजनामा सम्झौता गराउने लक्ष्य लिएको थियो । 

अहिलेको समीकरणलाई भारतसँग दूरी बढेको हिसाबले हेरिएकाले यसले लगानी सम्मेलनका लागि असर गर्ने हो कि भन्नेसमेत विश्लेषण हुने गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ