arrow

चार्जिङ स्टेशनमा प्राधिकरण र स्टेशन सञ्चालकको ‘राजनीति’, राजमार्गका यात्रुलाई सास्ती

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
ev-charging-station-lahana-mg-car.jpg

काठमाडौँ। सोमबार बिहान सिराहाको लहानमा पुगेका राजनीतिक विश्लेषक तथा व्यवसायी अरुणकुमार सुवेदी दिनभरि त्यहीँ रोकिए । कारण हो इलेक्ट्रिक भेहिकल (ईभी) को चार्ज । देशभर राजमार्ग क्षेत्रमा चार्जिङ स्टेशन रहेको विश्वासका आधारमा हाइवेमा ईभीको यात्रा तय गरेका उनले धोका पाए। दिनभरि अड्किएपछि सुवेदीले सामाजिक सञ्जालमै लेखे, ‘सेवाग्राहीको समस्याप्रतिको यो संवेदनहीनता र नेविप्रा (नेपाल विद्युत् प्राधिकरण) अव्यवस्थाले दुःख लागेको छ। ईभी बेच्ने अनि महिनौँ चार्जिङ स्टेशन नबनाउने एमजीलाई तुरुन्त कारबाही होस् ।’

यो एउटा प्रतिनिधिमूलक समस्या हो। यो समस्या राजमार्गमा यात्रा गर्ने सबै विद्युतीय सवारीका सञ्चालक तथा यात्रुहरूको हो। नेपाल विद्युत् प्राधिकरणको लापरबाही र अरू पक्षको उदासीनताको कारण चार्जिङ स्टेशन नियमित सञ्चालन हुन नसक्दा राजमार्गमा यात्रा गर्ने सबैजसो ईभी प्रयोगकर्ताले यस्तै समस्या भोग्दै आएका छन् ।

विभिन्न बहानामा नियमित रूपमा विद्युत् आपूर्ति नगरिदिने र विद्युत् आपूर्ति हुँदासमेत चार्जिङ स्टेशन सञ्चालन नगरिदिने अवस्था देखिएको यात्रुहरूको गुनासो छ ।

स्टेशन नचलाउन अनेक बहाना 
अहिले चार्जिङ स्टेशन सञ्चालन नगर्न सञ्चालकहरूले विभिन्न बहाना गर्दै आएका छन् । कहिले लाइन नभएको, कहिले बिग्रेको, कहिले कर्मचारी नभएकोलगायत अनेक बहाना राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई सास्ती दिइँदै आएको छ।

विद्युत् प्राधिकरण मात्रै होइन निजी क्षेत्रका सञ्चालकहरू पनि स्टेशन सञ्चालनमा उदासीन देखिँदै आएका छन्। ईभी बिक्रेता कम्पनीले सवारी साधन बिकाउन देशभर चार्जिङ स्टेशन रहेको प्रचार गरे पनि उनीहरूसमेत यस्तो स्टेशन नियमित रूपमा सञ्चालन गर्न उदासीन देखिँदै आएका छन् ।

केही समयअघि नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी चार्ज गर्दाको शुल्क १५० प्रतिशतसम्म बढाउन प्रस्ताव गरेको थियो। तर, विद्युत् नियमन आयोगले मूल्य बढाउने यो प्रस्ताव स्वीकार गरेको छैन। पुरानै मूल्यमा चार्जिङ स्टेशन खासै फाइदा नहुने भएपछि यसको सञ्चालनमा प्राधिकरणले चार्जिङ स्टेशन सञ्चालनमा लापरबाही गर्दै आएको छ ।

अहिले चार्जिङ स्टेशनमा चार्ज गरेबापत बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म ६.६० रुपैयाँ, साँझ ५ बजेदेखि राती ११ बजेसम्म ८.४० रुपैयाँ र राती ११ बजेदेखि बिहान ५ बजेसम्म ४.४५ रुपैयाँ प्रतियुनिट मूल्य तोकिएको छ। यो मूल्य बढाउन अहिले चार्जिङ स्टेशनको सञ्चालनमा राजनीति गर्दै आएको कतिपयको आरोप छ।

देशमा विद्युतीकरणको प्रमुख जिम्मेवारी रहेको प्राधिकरण नै नाफाको पछि लाग्दा निजी क्षेत्रका कम्पनीहरू झनै यसमा उदासीन देखिँदै आएका छन् । अहिले देशभर नेपाल विद्युत् प्राधिकरणका ५१ वटा चार्जिङ र निजी क्षेत्र समेतका ४ सय वटा फास्ट चार्जिङ स्टेशन रहेको बताइएको छ । तीमध्ये धेरै उपत्यका बाहिर राजमार्गमै छन् तर यात्रुहरूले भने चार्जमा सधैँ सास्ती व्यहोर्दै आएका छन् ।

लहान क्षेत्रमा रहेका चार्जिङ स्टेशन नियमित सञ्चालन नभएको सन्दर्भमा विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भोल्टेज कम भएका कारण यस्तो समस्या देखिएको बताए । उनले हाम्राकुरासँग भने, ‘आज भोल्टेज कम भएर हो, अहिले सुचारु भएको छ ।’ 

यात्रुहरू भने राजमार्गमा यात्रा गर्ने यात्रुलाई ठग्न चार्जिङ स्टेशनका सञ्चालक र होटेल व्यवसायीको मिलेमतोमा यस्तो भएको आरोप लगाउँछन् । चार्ज नभएर कुर्नु परेपछि खाने बस्ने प्रबन्धका लागि खर्च गर्नुपर्ने र यसले व्यापार बढ्ने भएपछि मिलेमतोमा यसो गरिएको हुनसक्ने उनीहरूको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ