arrow

नयाँ वर्षमा फेवा महोत्सव

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
pokhara-fewa-city.jpg
तस्बिर-फाइल

पोखरा । नयाँ वर्षको अवसरमा पोखरामा १९ औं फेवा नववर्ष महोत्सव हुने भएको छ । महोत्सव यही चैत २९ देखि वैशाख १ सम्म आयोजना हुनेछ । आयोजक होटल संघ पोखरा नेपालले महोत्सव तयारीलाई तीव्रता दिएको छ । 

महोत्सव सम्पन्न गर्न गठित मूल आयोजक समितिको हालै सम्पन्न पहिलो बैठकमा विभिन्न २१ उपसमिति गठन गरेको महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

उपसमितिका संयोजकलाई जिम्मेवारी बाँडफाँडका अतिरिक्त लेकसाइडका सडक नम्बर अनुसार एरिया संयोजकसमेत तोकिएको छ ।

संघका उपाध्यक्ष दीपक श्रेष्ठ र गणेशराज पहारीलाई महोत्सवमा सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ । 

महोत्सव प्रचारप्रसारको मुख्य जिम्मेवारी संघका महासचिव राजेन्द्र ढकालले पाएका छन् । संघका सबै पूर्वअध्यक्ष एवं सल्लाहकारले महोत्सवको अनुगमन गर्ने छन् ।

बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुलाई सकारात्मक रुपमा लिएको छ । उक्त खुसीयाली तथा महोत्सवका अवसरमा संघ अन्तर्गतका होटलले पाहुनालाई २० प्रतिशतसम्म छुट प्रदान गरेको आयोजक संघका अध्यक्ष एवं मूल संयोजक सुवेदीले बताए ।

नेपाली कला र मौलिक संस्कृतिको संरक्षण गर्दै नेपाली नयाँ वर्षलाई उल्लासपूर्ण रुपमा मनाउने उद्देश्यसहित फिस्टेल गेटदेखि हल्लनचोकसम्म यो महोत्सव आयोजना हुनेछ । 

ड्यामसाइडमा समेत स्टल राखी विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने जनाइएको छ । अम्बोट र सेन्टर प्वाइन्टमा पनि स्टेज निर्माण गरी कार्यक्रम हुनेछन् । पर्यटन, संस्कृति र खानालाई महोत्सवमा मुख्य जोड दिइने छ । 

सो अवसरमा संघका संस्थापक अध्यक्ष रमेशबहादुर भट्टराई, हानका केन्द्रीय सदस्य भरतराज पराजुली, हानका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैरे, संघका सल्लाहकार गोविन्दराज पहारी, लक्ष्मीबहादुर भट्टराई, संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ, महासचिव राजेन्द्र ढकाललगायतले महोत्सव सफल बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ