arrow

बहराइनसँग नेपालको लज्जास्पद हार

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ९ शुक्रबार
nepal-baharain-24.jpg

काठमाडौं । विश्वकप छनोट फुटबलको दोस्रो चरणमा नेपालले बहराइनसँग फराकिलो हार बेहोरेको छ । नेपाल बहराइनसँग ५–० को फराकिलो अन्तरले पराजित भएको हो । 

शुक्रबार बिहान बहराइनको बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले लज्जास्पद हार बेहोरेको हो । घरेलु टिमलाई जिताउन माहदी अल हुमाइदान, सायद बाकर, अली मादान इब्राहिम अल खतल र इस्माइल अब्दुल्लातिफले एक–एक गोल गरे ।

नेपालले शुरुआतदेखि नै कमजोर प्रदर्शन गरेको थियो । त्यसो त नेपालले शुरुआतदेखि नै बहराइनको आक्रमणको सामना गर्नुपरेको थियो । १६औँ मिनेटमै चोटका कारण फरवार्ड अञ्जन विष्ट बाहिरिनु परेको थियो । उनको स्थानमा दिनेश हेन्जनले खेलेका थिए । 

घरेलु दशरथ रंगशालामा हुनुपर्ने खेल मैदानको अवस्था ठीक नभएपछि बहराइनमै गर्नुपरेको हो । अखिल नेपाल फुटबल संघ एन्फाले फुटबलका मात्र गतिविधि गर्नुपर्नेमा अन्य गतिविधि गर्न उल्टै राखेपलाई पत्र लेख्ने जस्ता अक्षम्य कदम चालेपछि रंगशालाको स्थिति बिग्रिएको हो । 

योसँगै एन्फामाथि युवा तथा खेलकुद मन्त्रालयले स्पष्टीकरणसमेत सोधेको छ । त्यस्तै रंगशालामा अब खेलकुद बाहेकका कुनै पनि गतिविधि गर्न नदिने निर्णयसमेत गरेको छ । त्यस्तै रंगशालाको जिम्मा राष्ट्रिय खेलकुद परिषद् राखेपले नै लिने भएको छ । 

विश्वकपको समीकरण
जितसँगै ३ खेलबाट ६ अंक जोडेको बहराइन समूह ‘एच’को दोस्रो स्थानमा पुगेको छ । समान खेल खेल्दा नेपाल अंकविहीन हुँदै पुछारमा छ । 

यो समूहमा नेपालसँगै बहराइन, यमन र युनाइटेड अरब इमिरेट्स (यूएई) रहेका छन् । नेपालले यसअघि पहिलो खेलमा यूएईसँग ४–० को र दोस्रो खेलमा यमनसँग २–० को हार बेहोरेको थियो ।

दशरथ रंगशाला खेल्न लायक नभएपछि नेपाल र बहराइनबीचको दोस्रो लेगको खेल आगामी बुधबार बहराइनमै हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ