arrow

गण्डकीको बाह्र सय हेक्टरमा डढेलो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ९ शुक्रबार
aaglagi-kaundanda-pokhara.jpg
तस्बिर-फाइल

गण्डकी । गण्डकी प्रदेशभित्र यस वर्षको हिउँदमा करिब एक हजार दुई सय १५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । प्रदेशका ११ जिल्लामध्ये १० जिल्लाका एक सय ४७ स्थानका वनजङ्गलमा डढेलो लागेको प्रदेश वन निर्देशनालयले जनाएको छ ।

“मुस्ताङबाहेक प्रदेशका सबै जिल्लामा डढेलोका घटना भएका छन् । सबैभन्दा बढी कास्कीमा तीन सय ८२ हेक्टरमा डढेलो लागेको छ”, निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले भने । उनका अनुसार डढेलोबाट नवलपुरमा ८५ क्युफिट काठ क्षति भएको छ ।

म्याग्दीमा डढेलो निभाउने क्रममा एक जना घाइते भएका वन अधिकृत थापाले जानकारी दिए । कास्कीपछि सबैभन्दा बढी म्याग्दीमा तीन सय ५९ हेक्टर वन क्षेत्रमा डढेलोबाट प्रभावित बनेको छ ।

स्याङ्जामा दुई सय ८८, पर्वतमा ५०, बागलुङमा ४२, गोरखामा ३४, लमजुङमा २१, नवलपुरमा ३०, तनहुँमा सात र मनाङमा करिब दुई हेक्टरमा डढेलो लागेको निर्देशनालयले जनाएको छ ।

सबैभन्दा बढी म्याग्दीका ४६ स्थानमा डढेलो लागेको वन अधिकृत थापाले जानकारी दिए । उनका अनुसार कास्कीका २३, स्याङ्जाका ३२, लमजुङका १६, गोरखाका ११, बागलुङका आठ, नवलपुरका पाँच, पर्वतका तीन, तनहुँका दुई र मनाङको एक गरी एक सय ४७ स्थानमा डढेलो लागेको हो ।

वन अधिकृत थापाले बढीजसो मानवीय कारणले नै डढेलोका घटना हुने गरेको बताए । “बर्सेनी डढेलोका कारण वन क्षेत्रमा ठूलो नोक्सानी हुने गरेको छ । डढेलोले वन्यजन्तु र पन्छी मर्ने तथा उनीहरुको बासस्थान नष्ट हुन्छ”, उनले भने, “डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पुर्याइरहेको हुन्छ ।”

थापाका अनुसार नेपालमा मुख्य गरी फागुन र चैतमा डढेलोका घटना हुने गरेका छन् । हिउँदे वर्षा नहुनु, हावाहुरीको याम, भिरालो भू-बनोटजस्ता कारणले पनि डढेलो छिटो फैलने गरेको उनले बताए । वन व्यवस्थापनलाई चुस्त बनाउनसके डढेलोका घटना नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

“समयमै घाँसदाउरा, स्याउला, सोत्तर वनबाट निकाल्न सके डढेलो लाग्न पाउँदैन । डढेलो नियन्त्रणका लागि तीनै तहका सरकारले प्रभावकारी उपाय अवलम्बन गर्न जरुरी छ”, वन अधिकृत थापाले भने, “समुदायस्तरमा डढेलोसम्बन्धी सचेतना जगाउनुपर्छ ।”

डढेलो नियन्त्रणका लागि जिल्ला र स्थानीय तहमा रहेका डिभिजन वन र सबडिभिजन वन कार्यालयअन्तर्गत डढेलो नियन्त्रण सञ्जाल क्रियाशील रहेको उनले जानकारी दिए ।

वन कार्यालयहरुले सुरक्षा निकाय, स्वयंसेवक र स्थानीय जनसमुदायसँग मिलेर डढेलो नियन्त्रणका काम गर्दै आएको निर्देशनालयले जनाएको छ । लम्बिँदो सुक्खायामका कारण यो हिउँदमा डढेलोका घटना अझै बढ्नसक्ने जोखिम रहेको वन अधिकृत थापाले बताए । डढेलोले सामुदायिक र राष्ट्रिय वन क्षेत्रका बोटबिरुवा र बुट्यान सखाप पार्ने गरेको उनको भनाइ छ ।

वन अधिकृत थापाले विद्यालय तहदेखि नै डढेलो नियन्त्रण र वन संरक्षण सीपबारे बालबालिकालाई पढाउनुपर्ने बताए ।

डढेलो लगाउने व्यक्तिलाई बिगोअनुसारको जरिवानासहित तीन वर्षसम्मको कैद हुनसक्ने कानुनी व्यवस्था रहेको उनले जानकारी दिए । उक्त कानुनी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । रासस



नयाँ