arrow

कोशीका १२ जिल्लामा भेटिए कुष्ठरोगी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
health-ministry.png

झापा । सरकारले कुष्ठरोग निवारणका लागि निःशुल्क उपचारसहित ठूलो लगानी भए पनि नयाँ रोगी थपिने क्रम घटेको छैन । कोशी प्रदेशका १४ मध्ये १२ जिल्लामा कुष्ठरोगका संक्रमित फेला परेका छन् ।

कोशी प्रदेशमा कुष्ठरोगका एक सय ९५ नयाँ संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । प्रदेशको १२ जिल्लामा नयाँ र पुराना गरी चार सय ६२ कुष्ठरोगका संक्रमित रहेको निर्देशनालयका कुष्ठरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईंले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी कुष्ठरोगका संक्रमित झापामा एक सय ७० छन् । त्यसैगरी मोरङमा एक सय ६५ जना र सुनसरीमा ९२ जना कुष्ठरोगका संक्रमित छन् । “खोटाङ र ताप्लेजुङ जिल्लामा नयाँ र पुराना कुष्ठरोगी छैनन्”, उनले भने, “अधिकांश बिरामी तराईका जिल्लामा भेटिएका छन् ।” 

उनका अनुसार धनकुटामा सात जना, भोजपुरमा दुई जना, ओखलढुङ्गामा दुई, सोलुखुम्बुमा दुई, सङ्खुवासभामा तीन, उदयपुरमा नौ, पाँचथरमा छ जना, इलाममा तीन जना र तेह्रथुममा एक जना कुष्ठरोगका संक्रमित रहेका छन् । 

चालु आर्थिक वर्षमा कुष्ठरोगका नयाँ संक्रमित उल्लेखित मात्रामा भेटिएका छन् । सबैभन्दा बढी संक्रमित सुनसरीमा भेटिएको उनले बताए । सुनसरीमा ७० जना, मोरङमा ६० जना, झापामा ५६ जना, उदयपुरमा चार जना, इलाममा तीन जना, पाँचथरमा तीन जना र धनकुटामा दुई जना नयाँ संक्रमित फेला परेको उनको भनाइ छ । उनले कोशी प्रदेशका नयाँ संक्रमितमध्ये अङ्गभङ्ग भएका ३३ जना र पाँच जना १४ वर्षमुनिका बालबालिका रहेको बताए ।

लेप्रे नामक सुक्ष्म ब्याक्टेरियाको संक्रमणबाट लाग्ने कुष्ठरोग उपचारबाट निको हुन्छ । तर, समयमै उपचार भएन भने संक्रमितको हात र खुट्टा लगायतमा अङ्गभङ्ग हुने समस्या देखापर्दछ । यसले स्नायु र छालाको बाहिरी भागमा प्रत्यक्ष असर पुर्‍याउँछ ।

“कुष्ठरोग खासमा कम सर्ने रोग मानिन्छ, तर वर्षौसँगै बस्ने परिवारमा यसको संक्रमण देखिनसक्छ”, निर्देशनालयका कुष्ठरोग फोकल पर्सन गुरागाईंले भने, “रोगको किटाणु संक्रमण भएको सुरुमा थाहा हुँदैन । किटाणु शरीरभित्र पसेपछि दुईदेखि पाँच वर्षभित्रमा शरीरमा रोगका लक्षण देखा पर्न थाल्दछ ।”

नेपालमा सन् २०१० कुष्ठरोग निवारण भएको घोषणा भएको थियो । तर, त्यसपछि पनि नयाँ संक्रमित देखा परिरहेका छन् । सरकारी तथ्याङ्कअनुसार सन् २०१० देखि सन् २०१९ सम्मको एक दशकसम्म हरेक वर्ष औसत तीन हजार संक्रमित देखापरेका थिए भने सन् २०२० यता हालसम्म वर्षेनी औसत दुई हजार संक्रमित भेटिने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ