arrow

बदाम बेचेर नमूना उद्यमी बनेकी ७२ वर्षीया शिवमाया

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
badam-bikri.jpg

भोजपुर । बहत्तर वर्षको उमेरमा गाउँघरका हटियामा पुग्नु भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ । घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुग्छिन् ।

बदामको व्यापार गरेर महिनामा रु १५ देखि २० हजारसम्म आम्दानी गर्दै आएको उनी बताउँछिन् । पैतालीस वर्षअघिदेखि बदामको व्यापार थालेकी उनी अहिले पनि बदाम उत्पादन हुने ठाउँमा उत्तिकै उत्साहका साथ व्यापार गर्न जान्छिन् । 

“आफूले सकेको काम गर्नुपर्छ”, वृद्धा कार्कीले भनिन्, “धेरै वर्षअघिदेखि गरिरहेको काम भएकाले अहिले पनि त्यसलाई निरन्तरता दिँदा रमाइलो लाग्छ । गाउँगाउँमा पुगेर बदाम खरिद गरी ल्याएर यहाँका हाटमा बेच्छु । बदाम बिक्रीबाट महिनामा रु १५ देअि २० हजारसम्म आम्दानी हुन्छ ।” 

जिल्लाको बदाम उत्पादन हुने अरुण गाउँपालिकाको जरायोटार, सिमटार, पाल्पालेलगायत ठाउँमा पुगेर खरिद गर्ने उनले बताइन् । किसानले उत्पादन गरेको बदाम प्रतिपाथी रु तीन सयमा खरिद गर्दै आएको उनले बताइन् । 

आफूले खरिदपश्चात भुटेर प्रतिकेजी रु तीन सय ५० मा बिक्री गर्ने उनले जानकारी दिइन् । “बदाम बिक्रीबाट आफ्नो दैनिक खर्च जुटाउदै आएकी छु, दुई-चार पैसा नातिनातिनालाई दिन पनि हुन्छ”, उनले भनिन् ।

किसानबाट एक वर्षमा रु चार लाखसम्मको बदाम खरिद गर्ने उनले बताइन् । भोजपुरको शनिबारे हटिया, पौवादुङमा गाउँपालिका च्याङ्ग्रेको बुधबारे हटिया, चम्पे हटियालगायत स्थानमा पुगेर उनले बदाम बेच्दै आएकी छन् ।

वृद्धावस्थामा व्यापार गर्न समस्या हुने भए पनि यसलाई छोड्न मन नलाग्ने भन्दै उनले हातखुट्टा चलुञ्जेलसम्म काम गरेर नै खाने दृढता व्यक्त गरिन् ।

विगतमा धेरै स्थानीयस्तर उत्पादन भएको बदाम पाउने गरेको भए पनि पछिल्लो समयमा यसको खेती घट्दै गएको उनको अनुभव छ । “विगतमा भोजपुरमा प्रशस्त मात्रामा बदाम उत्पादन हुन्थ्यो”, उनले भनिन्, “अहिले गाउँघरमा कमैले मात्र खेती गरेको पाइन्छ । स्थानीय सरकारले बदाम खेती प्रवर्द्धन गर्नुपर्छ ।”

गाउँका अधिकांशले बदाम खेती छाड्दै गएका भए पनि आफूले वार्षिक ४० देखि ४५ मुरीसम्म बदाम उत्पादन गर्दै आएको अरुण गाउँपालिका-६ का ६८ वर्षीय किसान अम्बरबहादुर राईले बताए । 

पछिल्लो समय बदामको स्थानीय रैथाने बीउ मासिदै गएको उनले बताए । “बदामखेती व्यावसायिक बन्न सकेको छैन”, उनले भने, “व्यावसायिक बन्न नसक्दा पछिल्लो समय खेती घट्दै गएको छ । म एक वर्षमा ४५  मुरीसम्म बदाम फलाउँछु । सडक विस्तारका कारण विगतजस्तो बजारीकरणको समस्या छैन तर धेरै किसानले यसको खेती छाड्दै गएकाले उत्पादन घटेको छ ।” बगर क्षेत्रमा बदाम खेती उपयुक्त भएको उल्लेख गर्दै किसान राईले भने । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ