arrow

युरोपकै सबैभन्दा घातक हमला

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
russia-attack-24-03-22-AFP.jpg

काठमाडौँ । मस्को कन्सर्ट हलमा भएको नरसंहारमा एक सय ३० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि रुसले आइतबार राष्ट्रिय शोक दिवस मनाएको छ । इस्लामिक स्टेट (आइएस) समूहले जिम्मेबारी लिएको हमला युरोपमा सबैभन्दा घातक हमला थियो । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा भाग्ने प्रयास गरिरहेका चार बन्दुकधारीलाई पक्राउ गरिएको जानकारी दिँदै ‘बर्बर आतङ्ककारी हमला’ पछाडि संलग्न रहेकाहरूलाई सजाय दिने वाचा गरेका छन् । 

किएभले कुनै पनि सम्बन्धलाई दृढतापूर्वक अस्वीकार गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनले आफूहरूमाथि दोष थोपर्ने प्रयास गरेको आरोप लगाएका छन् । 

सार्वजनिक टेलिभिजन च्यानल रसिया २४ ले आइतबार बिहान भनेको छ, “यो मानवीय त्रासदीमा आफ्ना प्रियजनहरू गुमाउनेहरूसँग सम्पूर्ण मुलुक शोकमा छ ।”

पुटिनले आक्रमणबारे आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा इस्लामिक स्टेटले लिएको जिम्मेबारीको दाबीको सन्दर्भलाई जोडेनन् । 

शुक्रबार साँझ मस्कोको उत्तरी उपनगर क्रास्नोगोर्स्कमा रहेको क्रोकस सिटी हलमा छद्मवेशी बन्दुकधारीहरूले आक्रमण गरी भवनमा आगो लगाएका थिए । आक्रमणमा कम्तीमा एक सय ३३ जनाको मृत्यु भएको छ । 

जिहादी समूहले आक्रमणको दाबी गर्दै शनिबार एक टेलिग्राम च्यानलमा लेखेको छ, “‘इस्लामसँग लड्ने मुलुकहरू’ सँग ‘भयानक युद्ध’ को हिस्साका रूपमा ‘मसिनगन, एउनटा पेस्तोल, चक्कु र फायरबमले सुसज्जित चार आइएस लडाकूद्वारा गरिएको थियो’ ।”

एसआइटिई गुप्तचर समूहका अनुसार बन्दुकधारीहरूले गोली हानेको करिब एक मिनेट र आधा मिनेट लामो भिडियो सामान्यतया आइएसले प्रयोग गर्ने सामाजिक सञ्जाल खाताहरूमा पोस्ट गरिएको छ । उक्त भिडियो कन्सर्ट स्थलको लबीबाट खिचिएको जस्तो देखिन्छ । यसमा धमिलो अनुहार र अस्पष्ट आवाजसहितका धेरै मानिसलाई राइफलले गोली हानिरहेको तथा भुइँमा छरपस्ट निष्क्रिय शरीर र पृष्ठभूमिमा आगो लागिरहेको देखिन्छ ।

सन् २००४ मा बेसलान विद्यालयको घेराबन्दीपछिको उक्त हमला रुसमा सबैभन्दा घातक हमला थियो । रुसी अधिकारीहरूले मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरेका छन् । अस्पतालमा अझै एक सय १० जनाको उपचार भइरहेको छ । 

मुलुक शोकमा डुबेको बेला उद्धारकर्मीहरूले आइतबार पनि जलिरहेको भवनबाट शव निकालिरहेका थिए । आपत्कालीन स्थिति मन्त्रालयले अहिलेसम्म २९ जनाको नाम सार्वजनिक गरेको छ । आगलागीले शवको सनाखत गर्न जटिल बनाएको छ । 

मन्त्रालयले आइतबार क्षतिग्रस्त संरचनाहरू भत्काउन र भग्नावशेष हटाउनका लागि कार्यक्रम स्थलमा पुग्ने भारी उपकरणहरू आइपुगेको एउटा भिडियो पोस्ट गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ