arrow

इलाममा टिकट पाएपछि यसो भन्छन् सुहाङ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
suhang-nemwang-subash-nemwang.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । इलाम २ को उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेपछि संविधान सभा अध्यक्ष एवं एमाले उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङका पुत्र सुहाङ नेम्वाङले आफू असजिलो र अप्ठ्यारो अवस्थामा तयार भएको बताएका छन् । 

सामाजिक सञ्जालमा लेख्दै सुहाङले असजिलो र अप्ठ्यारो अवस्थामा तयार भएपनि मन, वचन र कर्मले इलामको सेवा गर्ने संकल्पसहित उभिएको बताएका हुन् ।

उनले यसो भनेका छन्–

आगामी १५ बैशाख २०८१ मा इलाम क्षेत्र नं २ को उप–निर्वाचनको लागि गौरवमय इतिहास बोकेको नेपाली जनताको प्रिय पार्टी नेकपा एमालेले मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । म खुशी र उत्साही छु । यो महत्वपूर्ण अवसरको निम्ती हाम्रो पार्टी नेकपा एमाले र श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु । उम्मेदवारको लागि सिफारिस गर्ने नेकपा एमाले इलाम जिल्ला कमिटी, उम्मेदवार सिफारिस कार्यदल, इलामका सबै आदरणीय नेता कमरेडहरुप्रति आभारी छु । 

मलाई उम्मेदवार बन्नका लागि प्रेरित गर्नुहुने इलामका सबै आदरणीय अभिभावक, प्रियजन र नौजवान साथीहरुप्रति कृतज्ञ छु । तपाईहरुको माया, साथ र शुभेच्छा मेरा लागि अजस्र शक्तिको स्रोत र अमुल्य सम्पति हो । अप्ठ्यारो परिस्थितिमा मलाई हौसला, उर्जा र साहस प्रदान गर्दै अघि बढ्नका लागि प्रेरित गर्नुहुने सबै आदरणीय व्यक्तित्वहरुलाई धन्यवाद भन्छु । आभार । 

पार्टीले मलाई उम्मेदवार बनाउने निर्णयपछि विभिन्न माध्यमबाट बधाई र शुभकामना दिनु हुने यहाँहरु सबैप्रति म असाध्यै आभारी छु । एक मुष्ठ धन्यवाद भन्न चहान्छु । 

यहाँहरुलाई थाहा छ, इलाममा विशेष अवस्थामा उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा इलामेली आदरणीय जनताहरुले मेरो बुबा उहाँहरुको प्रिय नेता सुवासचन्द्र नेम्वाङलाई जिताएर पठाउनु भएको थियो । तर हामीलाई अकल्पनीय ब्रजपात आइलाग्यो । भौतिक रुपमा हामीलाई छोडेर जानुभयो । उहाँको सिद्धान्त, विचार, सपना र संकल्पहरु हाम्रो साथमा रहे पनि भौतिक साथ छुट्यो । उपनिर्वाचनको परिस्थीति आइलाग्यो । 

गएको निर्वाचनमा म बुवाको साथमा चुनावी अभियानमा थिएँ । यस क्रममा मैले बुवालाई आशीर्वाद दिने इलामेली वृद्ध बुवाआमाहरूको भावना नजिकबाट सुनेको थिएँ । उहाँहरुको सुखदुःख थाहा पाएको थिएँ । भबिष्यप्रतिको उज्यालो आशा सहित अहोरात्र निर्वाचनमा खट्नु भएका इलामेली नौजवान साथीहरुको अपेक्षा र चाहना बुझेको थिएँ । बुवाप्रतिको उचो विश्वास र भरोषा सहित उहाँले भबिष्यप्रति राख्नु भएको आशा असाध्यै नजिकबाट थाहा पाएको थिएँ । बुवाको काखमा आएर लुटपुटिदै ‘अल द बेस्ट’ भन्ने  कलिला नानीहरुका आँखामा दौडिएको मायालाई नजिकबाट छोएको थिएँ । 

गएको निर्वाचनको क्रममा बुवाप्रति इलामेली जनताहरुले देखाउनु भएको त्यो आशा, अपेक्षा,  भरोषा र विश्वास मेरो लागि कति भव्य थियो रु त्यो म यहाँ लेखेर उल्लेख गर्न सक्दिन । मलाई लागेको थियो, ‘अझै थुप्रै बर्षहरु बुवाको साथमा रहनेछु ।

सिक्नेछु । बुझ्नेछु । जान्नेछु । ‘लो प्रोफाइलमा’ बसेर बुवाले देख्नु भएको सपना र गर्नु भएको संकल्प पुरा गर्न अधिकतम् योगदान गर्नेछु । इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरुले र कलिला नानीहरुले देखेका सपनाहरु पुरा गर्न बुवालाई दरिलो साथ दिनेछु ।’ म उहाँको लागि दरिलो सहयोगी बन्नेछु । तर बिडम्बना मेरो जीन्दगीमा पनि अकल्पनीय ‘आकस्मिकता’ आइलाग्यो । अकल्पनीय ब्रजपात आइलाग्यो । बुवाले देखाउनु भएको बाटो र दिनु भएको उज्यालो समातेर उहाँका ती सपनाहरु पुरा गर्न तयार हुनुपर्ने अवस्था आयो ।

हो, बुबालाई राजनीतिमा साथ दिदै खेलकुद, सामाजिक अभियान र वकालतमा सक्रिय थिएँ । यसो भनौ, ‘आफ्नो बाटो आफै खन्दै थिएँ ।’  मेरा लागि जनसेवाका अनेकन सजिला र फराकिला बाटाहरु स्वागतको लागि तयार थिए । तर, निर्वाचनको क्रममा देखेको बुवाप्रतिको इलामेली जनताहरुको आशा, भरोषा र विश्वासले मलाई पक्रिरह्यो । बुवासँग जोडिएका इलामेली जनताको सपना, संकल्प र अपेक्षाले मलाई पछ्याइरह्यो । आदरणीय इलामेली जनताहरुले हामीप्रति देखाउनु भएको माया, सद्भाव र शुभेच्छाले अरुतिर जाने अनुमति दिएन । र भनीरह्यो, ‘सुहाङ तिमीलाई भाग्न मिल्दैन है ।’ 

त्यसैले म उम्मेदवारको लागि तयार भएँ । म उम्मेदवार बन्दै गर्दा आफ्नो जीन्दगीको उर्वर समय पार्टीको बिकास, विस्तार र आन्दोलनका लागि खर्चिनु भएका इलामका आदरणीय नेताहरुको भावनालाई शिरमा राखेको छु । उहाँहरुको कष्टसाध्य संघर्ष, अभूतपूर्व त्याग र असाधरण योगदानप्रति सधैं नतमस्तक छु । उहाँहरुप्रति असाध्यै ऋणी छु । रहनेछु ।

हो !  म असजिलो र अप्ठ्यारो अवस्थामा तयार भएँ । यहाँनिर फेरि स्पष्ट गर्न चहान्छु, केवल परिस्थितिजन्य हिसाबले मात्रै म तयार भएको भने कदापी होइन । मन, वचन र कर्मले इलामको सेवा गर्ने संकल्पसहित उभिएको छु । त्यो प्रतिबद्धता र अठोट सहित तयार भएको छु । इलामको लागि स्पष्ट योजना र मार्गचित्र सहित यात्राको लागि तयार भएको हुँ । तपाईहको माया, साथ र सहयोग अझै धेरै चाहिएको छ । फेरि पनि सबैप्रति आभार र धन्यवाद । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ