arrow

रङ्गियो मधेस

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
holi-janakpur-2080.jpg

महोत्तरी । आज मधेसमा धुमधामसँग होली मनाइँदैछ । मधेसमा चन्द्रमास गणनाको फागुपूर्णिमाको समाप्ति र चैत कृष्ण प्रतिपदा शुरु भएसँगै होली पर्व मनाउने परम्परा छ ।

 कतिपय चाडपर्व खानपान विशेषसँग मात्र जोडिने भए पनि होली भने प्राचीन मिथिलामा कूलदेवताको आराधना गरेपछि मनाइन्छ । होलीका दिन मध्यान्हतिर इष्टदेवलाई अबिर चढाएर मालपुवा, सेलरोटी र पुरीलगायतका परिकार अर्पण गरेपछि खाने, ख्वाउने र रङ् अबिरको खेल शुरु हुन्छ ।

होली पर्व प्रेम, सद्भाव र आपसी एकताको प्रतीक मानिन्छ । यस पर्वमा घरपरिवार र समाजका कान्छा सदस्यले आपूmभन्दा जेठाको चरण अबिरले पुजेर होली खेल्ने अनुमति माग्छन् । 

पर्वमा अबिर लगाइदिएपछि एकआपसमा अङ्कमाल गरेर शुभकामना आदानप्रदान गरिन्छ । उल्लास र उमङ्गको यो पर्वमा घरघरै मालपुवा, दालपुरी र सेलरोटी विशेष परिकार मानिन्छन् । 

यसैगरी केरा, लौका, आलु, परवल र भाण्टासहितको तरुवा घरघरै पकाइन्छ । सबैका घरमा खाने, खुवाइने यी परिकारसँगै मांसहारीले आफ्नो रुचिअनुसारको मासु पकाउने र खाने, ख्वाउने गर्छन् । पर्वमा भाङको सर्वत खाने र खुवाउने मैथिल परम्परा छ । पिसिएको भाङ पत्ती दूध, सख्खर र मरिच मिसाएर सर्वत बनाउने र खाने र खुवाउनेमा मिथिलामा होड नै चल्छ ।

पर्वमा समवयीबीचको होली खेल्ने परम्परा छ । यसबाहेक सालासाली÷ भिनाजु र  सोल्टासोल्टीबीचको रङ् छ्यापाछ्यापले जोसुकैलाई रोमाञ्चित गराउँछ । 

मधेसमा पछिल्लो समय तीन दिन होली मनाउन थालिएको छ ।  हिन्दू परम्पराभित्रका फरक–फरक चलनअनुसार फरकफरक दिनका होलीमा मनाउने चलन छ । यो आपसी अन्तरघुलनले बनाएको उच्चतम संस्कृति रहेको पाका मैथिल बताउँछन् । 

मिथिलाको मध्यमा परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली मनाउने परम्परा छ । यसअनुसार आज परिक्रमा सम्पन्न भएपछि वृतभित्र भोलि होली मनाइन्छ । पछिल्ला केही दशकयता भने कतिपय ठाउँमा होलीका नाउँमा विकृति बढ्दै गएको भन्दै पाका मधेसी  चिन्ता व्यक्त गर्छन् । 

होलीका परम्परागत विशिष्ट गीत हुँदाहुँदै अचेल भड्किला गीत र डिजे बाजाको कर्कस स्वर बढ्न थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ