arrow

मौसम खुलेपछि मन्थली–लुक्ला उडान शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
lukla_airport.jpg

रामेछाप । एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उड्न नसकेका जहाजको आज बिहानबाट मौसम खुलेपछि मन्थली–लुक्ला उडान शुरु भएको छ ।

यसअघि लुक्लामा भएको खराब मौसमका कारण सीता, तारा र समिट एयरका जहाज मन्थलीमै एक हप्तादेखि ‘होल्डिङ’ भएका थिए । 

सो समयमा खराब मौसमका कारण जहाज नउडेपछि निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नैपर्ने विदेशी पर्यटकलाई हेलिमार्फत सोलुकै सुर्केमा पुर्याइएको थियो भने सडकमार्गबाट सोलुको फाप्लुसम्म लैजाने गरिएको थियो ।

आज बिहान ६ बजेदेखि जहाजका लागि लुक्लामा राम्रो मौसम भएका कारण उडान शुरु भएको तारा एयर रामेछापका इन्चार्ज प्रवीण सुवेदीले बताए । 

मौसम खुलेपछि बिहानैदेखि काठमाडौँबाट सडकमार्ग हुँदै विदेशी पर्यटक मन्थली ल्याउने क्रम जारी छ । 

लुक्लाको मौसमले साथ दिएसम्म आज दिनभर जहाज आलोपालो प्रणालीद्वारा मन्थलीबाट लुक्ला उडान भरिरहने नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईँले बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ