arrow

लगानी सम्मेलनमा निजी क्षेत्र

सात परियोजना प्रस्तावित, सबैमा आईएमई ग्रुपको लगानी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
lagani-board.jpeg

काठमाडौँ । आगामी बैशाखमा हुने तेस्रो लगानी सम्मेलनका लागि निजी क्षेत्रबाट ७ वटा परियोजना प्रस्तावित भएका छन् । सम्मेलनको शोकेसमा राख्ने प्रयोजनको लागि नेपाल उद्योग वाणिज्य महासंघले उक्त परियोजना सिफारिस गरेर पठाएको हो । 

निजी क्षेत्रबाट प्रस्तावित ती आयोजनामध्ये केवलकार र हाइड्रोपावर परियोजना २–२ वटा तथा सिमेन्ट उद्योग, रिसोर्ट तथा टेक्निकल स्कुल एक–एक वटा रहेको बोर्डका प्रवक्ता प्रध्युम्न उपाध्यायले जानकारी दिए ।

शोकेसमा राख्न प्रस्तावितमध्ये केवलकार परियोजना अन्तर्गत कास्कीमा सिक्लेस केवलकार र कैलाली चिसापानीको जाल्पालदेवी केवलकार परियोजना छन् । यी दुवै परियोजना आईएमई समूहले लगानीका लागि ग्रस्तावित परियोजना हुन् । 

सिक्लेस गुरुङ जातिको बाहुल्य रहेको पर्यटकीय गाउँ हो । कास्कीको मादी गाउँपालिकामा पर्ने उक्त गाउँमा प्रस्तावित उक्त आयोजना अन्तर्गत प्वरयुममा एउटा स्टेशन र कोरी डाँडामा अर्को स्टेशन निर्माण हुनेछ । यसको दूरी ६.४१ किलोमिटर लामो रहने समेत जनाइएको छ । परियोजनाले जनाएको छ ।

अर्को जाल्पालदेवी केवलकार परियोजना कैलालीको चिसापानीमा पहिलो स्टेशन र राजडाँडासम्म अर्को स्टेशन रहनेछ । उक्त केवलकारको दूरीसमेत ६ किलोमिटर रहेको छ । 

त्यस्तै, निजी क्षेत्र सिफारिस गरेर पठाएका हाइड्रोपावर परियोजनामा ५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी हाइड्रोइलेक्ट्रिकल प्रोजेक्ट र ५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकी हाइड्रोइलेक्ट्रिकल प्रोजेक्ट रहेका छन् । आईएमई समूहको लगानी रहेको दुवै परियोजनाले गत भदौमा नेपाल विद्युत् प्राधिकरणसँग पीपीए सम्झौता गरेको थियो । 

त्यस्तै, काठमाडौँको सुकेधारामा रहेको काठमाडौँ टेक्निकल स्कुललाईसमेत आयोजनाको शोकेसमा राख्न सिफारिस गरेको छ । उक्त विद्यालय गत वर्षदेखि सञ्चालन शुरु गरिएको हो । 

उक्त स्कुलमा होटल म्यानेजमेन्ट, केयरगिभर सम्बन्धी कक्षा, वित्तीय क्षेत्र व्यवस्थापन कक्षा र कम्प्युटर हार्डवेयर र नेटवर्किङ सम्बन्धी कक्षा सञ्चालन हुँदै आएको छ । 

उता आईएमई समूहकै लगानीमा बैतडीमा सिमेन्ट उद्योग स्थापना गर्ने तयारी अनुसार परियोजना प्रस्ताव गरिएको छ । अहिले आईएमई समूहले पाल्पामा सिमेन्ट उद्योग सञ्चालन गरिरहेको छ । त्यसलाई बैतडीमा विस्तार गर्ने तयारी गरेको हो । 

त्यस्तै, पर्यटन क्षेत्रसँग सम्बन्धित परियोजनामा चितवन भरतपुरस्थित भरतपुर आइसल्याण्ड रिसोर्ट एण्ड वाटर प्रोजेक्ट रहेको छ । निजी क्षेत्रबाट प्रस्तावित यी सबै आयोजनालाई आगामी लगानी सम्मेलनको शोकेसमा राख्ने तयारी भएको बोर्डका प्रवक्ता उपाध्यायको भनाइ छ ।

यद्यपि अहिलेसम्म प्राप्त भएका परियोजना नै अन्तिम भने होइनन् । यी नामहरु प्राप्त हुने क्रम जारी रहेकोले यो सूचीमा अरु आयोजनाहरुसमेत थप हुनसक्ने उनको भनाइ छ । 

आगामी बैशाख १६ र १७ गते हुने लगानी सम्मेलनका लागि शोकेसमा राख्न अहिलेसम्म १ सय ३५ वटा आयोजना प्रस्तावित भएका छन् ।
 



लोकप्रिय समाचार
नयाँ