- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । हेमराज पहारी स्मृति पुरस्कार २०८० बाट साहित्यकार सरुभक्तलाई सम्मान गरिने भएको छ । पुरस्कार राशि नगद एक लाख र ताम्रपत्र छ ।
प्रतिभा छनोट समिति संयोजक पद्यराज ढकालले नेपाली साहित्यमा सरुभक्तको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको उल्लेख गरे । प्रतिभा छनोट समितिका सदस्यमा कृष्णप्रसाद पौडेल र सरस्वती श्रेष्ठ ‘सरु’ थिए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहेका सरुभक्त पाँच दशकदेखि नेपाली साहित्यमा क्रियाशील छन् । साहित्यका सबैजसो विधामा कलम चलाउने उनका चार दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
साहित्यकार एवं समाजसेवी हेमराज पहारीको स्मृतिमा स्थापित हेमराज पहारी स्मृति प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कारबाट यसअघि सत्यमोहन जोशी, राप्ती साहित्य परिषद्, विमल गुरुङ स्मृति पुस्तकालय, लोककवि अली मियाँ, झरना साहित्य परिवार र साहित्य सन्ध्या सम्मानित भइसकेका छन् ।
साहित्यकार पहारीको गीत सञ्चयन ‘हेमराज पहारीका गीतहरू’, नियात्रा सञ्चयन ‘उत्तरी गोलार्द्धको एक फन्को’ र कविता सञ्चयन ‘देशको अभिभारा’ प्रकाशित छन् ।
प्रतिष्ठानले हेमराज पहारीका बाँकी सिर्जना प्रकाशन, उनका योगदान र सिर्जनाको प्रवर्द्धन एवम् नेपाली साहित्यको उत्थानका लागि काम गरिरहेको अध्यक्ष रीता पहारीको भनाइ छ । वैशाख ७ गते हुने समारोहमा पुरस्कार अर्पण गर्ने प्रतिष्ठानले जनाएको छ ।