arrow

बुटवलमा ईरिक्सा किचलोः दोहोरो करविरुद्ध व्यवसायी आन्दोलित

logo
नारायण वली,
प्रकाशित २०८० चैत २९ बिहिबार
e riksa-butwal-andolan 2.jpg

लुम्बिनी । बुधबार दिउँसो करिब २ बज्दै थियो । बुटवल उपमहानगरलाई कडा सुरक्षाकर्मीहरुको घेरा हालेर सुरक्षा दिइरहेका थिए । प्रहरीहरु आन्दोलनकारीहरुको पर्खाइमा थिए ।

जब उत्तरतर्फ इलाका प्रहरी कार्यालयतिरबाट आन्दोलनकारीहरुको हुल उपमहानगरतिर सोझियो तब तयारी अवस्थामा तैनाथ भएका प्रहरीहरु अलर्टमा बसे ।

यो घटना बुटवल उपमहानगरपालिका र ईरिक्सा व्यवसायीहरुबीचको किचलोको थियो । बेलाबेलामा उपमहानगरको गेट अगाडि सयौँ ईरिक्सा व्यवसायीहरुले गर्ने आन्दोलन, विरोध जनाउने कार्यले मुक्ति नपाउँदा बुधबारको दृश्यमा नाराबाजी पनि सुनिन्थ्यो । 

स्वतन्त्र ईरिक्सा तथा अटो टेम्पो चालक संघ, अखिल नेपाल क्रान्तिकारी अटो मजदुर संघ र तिनाउ टेम्पो यातायात प्रालीको संयुक्त संघर्ष समितिद्धारा आयोजनामा गरिएको विरोध प्रदर्शनमा आन्दोलनकारीहरुले दोहोरो कर बन्द गर, गरिबमाथिको दमन बन्द गर, मनपरी कर बन्द गर जस्ता नाराहरु लगाएका थिए । उनीहरुले ईरिक्सा व्यवसायीहरुले यातायात व्यवस्था कार्यालय र उपमहानगरमा दोहोरो कर तिर्दै आएको भन्दै यस्तो दोहोरो कर तिर्ने प्रवृत्ति मुलुकमा कहीँ नभएको तर त्यो नियम बुटवल उपमहानगरले लगाएको जनाउँदै आपत्ति जनाएका थिए । 

उपमहानगरपालिकाको गेटमा पुगेर कोणसभामा परिणत भएको सभालाई सम्बोधन गर्ने वक्ताहरुले स्थानीय तहले रोजगारीको सिर्जना गर्नुपर्नेमा नागरिकले आफ्नै ऋणकर्जा गरेर स्वदेशमै केही गर्छु भनेर श्रम गर्दा गरिखाने वर्गलाई लखेट्न खोज्नु राम्रो नभएको भन्दै स्थानीय तहले यसैगरी अन्याय गर्न खोजिरहे त्यसको कडा प्रतिवादमा उत्रेर जस्तोसुकै अवस्था पनि ब्यहोर्न तयार रहेको जिकिर गरेका थिए ।

एक ईरिक्सा व्यवसायी लंकप्रसाद खनालले आफूले मासिक रुपमा उपमहानगरलाई तिर्दै आएको करको पूर्जी देखाउँदै भने, 'मैले मासिक १ हजार पाँच सय बुझाउँछु । तर पनि नगरमा राम्रोसँग चलाउन पाइन्न । कर तिरेर नियम अनुसार सवारी खोज्न र बोक्न नपाएपछि कर तिरेको काम भएन ।' 

ईरिक्सा चलाएर रोजीरोटी गर्दा दमन गर्न खोज्नु जबर्जस्त दैनिकीमा लात हानेर स्वदेशमै गरेको श्रम खोसेर पलायन गर्न खोजेको हो ? भनेर उनीहरुले आक्रोश पोखेका थिए । 'हामी तिनीहरुले स्थानीय तहका नियम मान्दैनौँ भनेका छैनौँ, सबै वर्गलाई समेट्ने खालको न्यायोचित कानून बनाउनुहोस्, सहज गराउनुहोस् हामी त्यो नियममा रहेर चल्न तयार छौँ । तर दमनका नीति ल्याएर लाठी बर्साउन खोजे परिस्थिति फरक हुनेछ', उनीहरुले चेतावनी दिए । 

स्वतन्त्र ईरिक्सा तथा अटो टेम्पो चालक संघ अध्यक्ष फूलकुमार चौधरीले हाम्राकुरासँग भने, 'उपमहानगरका नगरप्रहरीको ज्यादतीलाई तत्काल बन्द नगरे कडारुपमा प्रतिवादमा उत्रिन्छौँ । गरिब दुःखीहरुको भोटले कुर्सीमा पुगेकाहरुले त्यही भोट बैंकहरुलाई नै उत्पीडन गर्न खोजेका छन् त्यो हामीले मान्दैनौँ ।'

यस्ता छन् मागहरुः 

-ईरिक्सा तथा टेम्पो सम्बन्धी बुटवल उपमहानगरपालिकाको सम्बन्धित फाँटको विभागिय प्रमुखलाई स्थानान्तरण गर्नुपर्ने । 
-ईरिक्सा तथा टेम्पो हालको मापदण्ड दर्ता पूर्णरुपमा खारेज गुर्नुपर्ने । 
-एक मजदूर एक अटो टेम्पोको अबधारण अनुसार ईरिक्सा तथा टेम्पोको अबधारण लागू गर्नुपर्ने । 
-ईरिक्सा तथा टेम्पो सम्बन्धित दण्ड जरिबानाको नीति नियम गर्नुपर्ने । 
-बुटवल नगरभित्र प्रत्येक ठाउँ र चोकमा पार्किङ स्थल तोक्ने व्यवस्था गरिनुपर्ने । 
-ईरिक्सा तथा टेम्पोमा लगाइएको दोहोरो कर प्रणाली खारेज गर्नुपर्ने । 
-प्रत्येक नेपाली नागरिकहरुले संविधानको मर्म अनुसार पेशा व्यवसाय रोजगार गर्न पाउनुपर्ने ।
-ईरिक्सा तथा टेम्पो सम्बन्धित बिषयहरु आवद्ध समिति मार्फत् हुनुपर्ने ।
-ईरिक्सा तथा अटो सञ्चालन सम्बन्धी नियमावली २०७३ पूर्णरुपमा खारेज गर्नुपर्ने । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ