arrow

एमालेको बहसमा चर्का चर्की : संविधान संशोधनबारे तर्क गरिरहनु ‘अतिवाद’

logo
प्रकाशित २०७३ मंसिर ९ बिहिबार
UML-Bahas-tark.jpeg

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले संविधान संशोधनका विषयमा ‘संशोधन गर्नु पर्छ र गर्नै हुँदैन’ भन्ने अतिवादको अडान त्याग्नुपर्ने बताएका छन् ।

एमाले भ्रातृ संस्था युवासङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंको प्रज्ञा भवनमा गरेको विचार गोष्ठीमा राजनीतिक दलका नेताले संविधानको कार्यान्वयनका लागि राष्ट्रिय हित र सहमतिका साथ संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशील भएकाले राष्ट्रिय आवश्यकता र जनताको भावनाबमोजिम संशोधन गर्न सकिने बताए ।

ओलीले भने, ‘संविधान संशोधनमा के संशोधन गर्ने, कति गर्ने र किन गर्ने भन्ने औचित्य पुष्टि हुनुपर्छ ।’ मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय हित र अखण्डताप्रति प्रतिकूल हुनेगरी संविधान संशोधन गर्न नहुने ओलीको धारणा छ ।

एमाले तराई–मधेस विरोधी भनी जनतामा भ्रम फिँजाउने काम भएको गुनासो गर्दै ओलीले आफ्नो सरकारका पालामा तराई–मधेसमा विकास निर्माणका धेरै काम भएको जिकिर गरे । सरकारले निर्वाचनका तयारीका लागि कुनै काम नगरेको नेता ओलीको आरोप छ ।

कार्यक्रममा काँग्रेस नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि संशोधनको आवश्यकता रहेकामा जोड दिँदै संविधान संशोधन गर्न हुँदैन भन्ने केही दलले अनावश्यक ढिपी त्याग्नुपर्ने सुझाव दिए ।

संविधानप्रति तराई–मधेसमा उठेको आवाजलाई ठूला दलले केही पनि होइन भनेर सामान्य रुपमा लिनु नहुने आग्रह गर्दै उनले भने, ‘निर्वाचनको वातावरण बनाउन पनि संविधान संशोधनको आवश्कता छ ।’ एमालेका उपाध्यक्ष भीम रावलले एमाले जस्तो ठूलो पार्टीलाई बाइपास गरेर कम जनमत भएका पार्टी र नेतालाई खुसी पार्न गरिने संशोधनले संविधानको स्वीकार्यता बढ्न नसक्ने जिकिर गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनमा दलले अतिवादी सोच राखे त्यसले मुठभेड निम्तने धारणा व्यक्त गर्दै भने, ‘मुलुकको हित र सार्वभौमसत्ता विपरीत हुने संशोधन हाम्रो पार्टीलाई मान्य हुँदैन ।’

माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले आन्दोलनरत पक्षको माग सम्बाधोन गर्न संशोधन आवश्यक भए पनि त्यसबारेमा स्पष्ट धारणा आउनुपर्ने माग गरे ।

कार्यक्रममा सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठी, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्रनारायण देव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गरी संविधानको कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए ।

यस्तै, विचार गोष्ठीमा तमलोपाको बरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले एमाले अध्यक्ष केपी ओली र माओवादी नेताहरुको नामै लिएर प्रश्नको वर्षा गरेका थिए । त्रिपाठीले ओलीलाई हिजो प्रधानमन्त्री हुँदा संविधान संशोधनका लागि पठाएको पत्र आफ्नो पार्टी कार्यालयमा सुरक्षित रहको भन्दै अहिले आएर राष्ट्रवादका नाममा अतिवाद नपाल्न सुझाए ।

उनले दिल्लीमा बुझाएको चार बुँदे के थियो भनेर प्रश्न समेत गरे । पहिले संघीय संरचनामा ओलीले पनि हस्ताक्षर गरेकाले यसमा अतिवाद नपाल्न उनले आग्रह गरे । यस्तै, माओवादी नेताले प्रदेश ५ टुक्र्याउने खेल सफल नहुने भन्दै आफ्नै नेतृत्वलाई त्यसो नगर्न चेतावनी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ