arrow

कतारी राजा थानी आउँदै, यस्तो छ कार्यक्रम, सुरक्षामा चारै निकाय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
sheikh-tamim-bin-hamad-al-thani-qatar-king-2024.jpg

काठमाडौँ । कतारका राजा शेख तमिम बिन हमद अल थानीको सुरक्षामा नेपाली सेनाका भावी प्रधानसेनापति रथी अशोकराज सिग्देलको नेतृत्वमा खटिएको छ । 

साँझ साढे ५ बजे नेपालको औपचारिक भ्रमणमा आउन लागेका कतारी राजा थानीलाई उच्च महत्व दिँदै रथी सिग्देलले सुरक्षाको कमाण्ड गर्नेछन् ।

सिग्देलसँगै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापा, सशस्त्र प्रहरी पशुपति बाहिनीका प्रमुख डीआईजी पुरुषोत्तम थापा पनि खटिएका छन् ।

विमानस्थलमा ओर्लनासाथ राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेपछि रथी सिग्देलको गाडीले कमाण्ड गरेर उनलाई होटल सोल्टीको स्वीट रुममा पुर्याउनेछ । 

जामरसहितको गाडी सडकमा हुने भएकाले विमानस्थलबाट सोल्टीसम्मको क्षेत्रमा आधा घण्टा सञ्चारसेटमा अवरोध हुन सक्ने संभावना रहेको सुरक्षा स्रोतले दिएको छ ।

थानीको भ्रमणका लागि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा व्यवस्था चुस्त बनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका राजा थानीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरु सोमबारबाटै परिचालित भएका थिए ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार एक हप्ताअघिदेखि नै काठमाडौँ उपत्यकाको सुरक्षा तयारी थालिएको थियो । नेपाल प्रहरीका मातहतको युनिटहरू, विशेष गरी उपत्यका प्रहरी कार्यालय, त्यस अन्तर्गतका वृत्त, प्रभाग सबैलाई हाइअलर्टमा राखिएको थियो ।

अवाञ्छित क्रियाकलाप हुनसक्ने स्थानमा निगरानी बढाइएको थियो । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले भीभीआईपी पाहुनाको सवारी व्यवस्थापन तथा सुरक्षा व्यवस्थापनका लागि संयुक्त सुरक्षा योजना बनाएको थियो । 

जिल्ला सुरक्षा समितिसँग छलफल गरेर सुरक्षा योजना तयार पारेको थियो । सुरक्षा योजना अनुसार नै सुरक्षाकर्मी परिचालन गरिएको छ । जनशक्ति परिचालन, ट्राफिक परिचालनलगायतमा चुस्त व्यवस्था बनाइएको छ । 

हेडक्र्वाटरमा रहेका प्रहरीसमेत अलर्ट अवस्थामा रहनेछन् । मोबाइल र इमर्जेन्सी गस्ती बढाइएको छ ।  राजा थानीसँगै ६ जना मन्त्रीहरू पनि नेपाल आउँदैछन् ।

थानीले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा आजै बेलुकी राजकीय भोजको आयोजना गर्दैछन् ।
 
त्यस्तै कतारी राजा थानीले यही बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् । 

भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । 

त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । 

भ्रमणका क्रममा नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’बीच समाचार आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ । 

कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने बताइएको छ । 

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरेको छ ।

मन्त्रालयले नयाँ सम्झौता गर्ने विषयका सम्बन्धमा विवरणसहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक प्रतिक्रियासहित जानकारी आइनसकेको जनाएको छ । 

कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् । कतारका राजा थानी बुधबार अपरान्ह स्वदेश फर्कने छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ