५ नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव आए मै विपक्षमा मतदान गर्छु : टोपबहादुर
पार्टीले कारबाही गरे पनि मलाई केही फरक पर्दैन
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
1.2k
Shares
काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्र संसदीय दलका उप–नेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव ल्याए आफूले त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता रायमाझीले सरकारले ५ नम्बर प्रदेशलाई तलमाथि गर्ने गरी संशोधन प्रस्ताव ल्याए आफू त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिए । रायमाझीले अगाडि भने, ‘मेरो लागि देश र जनता ठूलो कुरा हो, पार्टी भनेको त्यसपछि मात्रै हो ।’
रायमाझीले विवाद नै नएको ५ नम्बर प्रदेशलाई टुक्र्याउँदा कसैलाई पनि फाइदा नहुने जिकिर गरे । उनले ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरी संविधान संशोधनको प्रस्ताव आए प्रस्तावको विपक्षमा मतदान गर्दा पार्टीले कारवाही गरेपनि आफूलाई कुनै फरक नपर्ने स्पष्ट पारे ।
नेता रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने विषयमा ९० प्रतिशतको विरोध रहेको उल्लेख गर्दै भने,‘५ नम्बर प्रदेशका सबै दलहरु एक ढिक्का छन्, यदि ५ नम्बर प्रदेशलाई तलमाथि गर्ने कुरा भए जनता स्वतस्फुर्त आन्दोलनमा उत्रिन्छन, अहिलेपनि आन्दोलनका झिल्काहरु देखा परेका छन् ।’ उनले भुइको टिप्न खोज्दा गोजीको खस्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी समेत दिए ।
उनले संविधान संशोधनको लागि दलहरुवीच सहमति जुटाउनुपर्ने बताउँदै भने,‘संशोधन के–के विषयमा गर्ने भन्नेबारेमा दलहरुवीच सहमति कायम गर्नुपर्छ, टेबुलमा बसेर छलफल गरेपछि मात्रै संशोधनबारे निश्कर्षमा पुग्नुपर्छ ।’ उनले विवादै नभएको जिल्लालाई चलाउँदा मुलुक र जनता कसैको पनि हित नहुने जिकिर गरे । लुम्बिनी र राप्तीका जनता एक ढिक्का रहेको उल्लेख गर्दैै त्यसमा हात हाल्ने काम कसैले पनि नगरे हुने उनको चेतावनी थियो ।
विवाद नै नभएका जिल्लाहरुलाई चलाउँदा मधेशी मोर्चाको आन्दोलन र बलिदानीको अस्तित्व पनि समाप्त हुने रायमाझीको दाबी छ । यद्यपि, उनले आफ्नो पार्टीले अहिलेसम्म यसबारेमा आधिकारिक निर्णय नगरेको समेत जिकिर गरे । रायमाझीले संविधान संशोधन देखाउनको लागि र औपचारिकता मात्रै निभाउनको लागि ल्याउन नहुने बताए ।
नेता रायमाझीले सहमतिमा संविधान संशोधनको प्रयास जारी राख्नु पर्ने यदी त्यसो भएन भने विधि र प्रक्रियाबाट अघि बढ्नुपर्ने सुझाव दिए । ५ नम्बर प्रदेशलाई चलाउन नहुने भनेर सबैभन्दा पहिला आफूले बोलेको उल्लेख गर्दै त्यसपछिमात्रै एमालेले यसबारेमा बोलेको जिकिर गरे ।
एमालेको सहमति विना संशोधन प्रस्ताव अघि बढाउनुहुँदैन : साउद
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता नारायण प्रसाद साउदले संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दल एमालेलाई विश्वास लिएर अघि बढ्नुपर्ने बताएका छन् ।
साउदले एमाले यो देशको जिम्मेवार पार्टी र महत्वपूर्ण स्टकेहोल्डर भएकोले उसलाई विश्वासमा लिएर मात्रै संविधान संशोधन प्रस्ताव अघि बढाउनुपर्ने बताएका हुन् । उनले संविधान संशोधनमार्फत असन्तुष्टहरुको मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
साउदले संविधान संशोधनको सरोकारवाला पक्ष, सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलवीच संशोधनको विषयमा सहमति कायम गरेरमात्रै अघि बढ्नुपर्ने स्पष्ट पारे । उनले अघि थपे,‘मधेशवादी दलहरुले पनि नयाँ शर्तहरु थुपार्दै जाने हो, सरोकारवालाहरुवीच सहमति भएन भने मुलुकमा नयाँ द्धन्द्ध सिर्जना हुन्छ ।’
साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संशोधन प्रस्ताव ल्याउनको लागि हतार गरेको समेत आरोप लगाए । उनले भने,‘प्रचण्डजीले हतार हतार गरिरहनुभएको छ, रेलको ईन्जिनमात्रै कुदाउने तर डब्बा छोड्ने काम गर्नुभएन नि ?’ उनले प्रतिपक्षीले बोलेका कुरालाई सरकारले नजरअन्दाज गर्न नहुने बताए ।
उनले कैलाली–कञ्चनपुरको जनता कहाँ बस्ने भन्ने कुरा त्यहाँका जनताले भन्दापनि काठमाडौंमा बस्नेहरुले बढि गरेको आरोप लगाउँदै थपे,‘कैलाली र कञ्चनपुरका जनतालाई भन्दा बढि काठमाडौंमा बढि त्यसबारेमा कुरा हुन्छ, यस्तै हो भने दुष्परिणाम आउँछ ।’
महासेठको ठोकुवा,‘यो सरकारले संशोधन प्रस्ताव ल्याउनै सक्दैन’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुविर महासेठले प्रचण्डको नेतृत्वको सरकारले संविधान संशोधन प्रस्ताव कुनै हालतमा ल्याउन नसक्ने ठोकुवा गरेका छन् ।
उनले सरकारले संशोधनको नाममा हल्ला र प्रोपागाण्डा फैलाएको आरोप लगाए । उनले अघि थपे,‘यो सरकारले संविधान संशोधन प्रस्ताव ल्याउनको लागि होईन, त्यतिकै हल्ला र प्रापागाण्डा फैलाईरहेको छ, अन्तिममा आएर एमालेको कारणले वा एमालेले मानेन भन्छ अनि यही बहाना बनाउँछ ।’
नेता महासेठले अहिले संविधान संशोधन आवश्यकै नभएको समेत स्पष्ट पारे । उनले संविधान संशोधन भन्दा पनि अहिले कार्यान्वयन आवश्यक भएको जिकिर गरे । उनले अघि थपे,‘कम्तिमा एउटा चुनाव गर्नुपर्छ अनिमात्रै संविधान संशोधन आवश्यक भयो भने सहमति गरेर के–के विषयमा संशोधन गर्न सकिन्छ सल्लाह गरेर अघि बढ्नुपर्छ ।’
उनले वर्तमान सरकारले संविधान संशोधनको प्रोपागाण्डा मच्चाएर संविधान कार्यान्वयन हुन नदिने नाटक मञ्चन गरिरहेको समेत आरोप लगाए । उनले अघि थपे,‘सुशली कोइरालाजीको सरकारको पालामा एक पटक संशोधन भैसक्यो, हामीले सहयोगी भूमिका निर्वाह गरेकै हो नि, एमाले संविधान संशोधनको विरोधी हुँदै होईन ।’
उनले नेपालमा राजनीतिक स्थिरता आउन नदिने शक्तिहरु लागि परेको समेत आरोप लगाए । महासेठले अघि थपे,‘अहिलेको व्यवस्थालाई पूर्ण रुपमा असफल बनाउने शक्तिहरु लागिपरेका छन्, देशी विदेशी शक्तिहरु यो संविधानलाई असफल बनाउनको लागि र संविधान कार्यान्वयन हुन नदिन लागिपरेका छन् ।’
उनले वर्तमान सरकारले कुन कुन विषयमा संविधान संशोधन गर्न चाहेको भन्ने कुरा अहिलेसम्म स्पष्ट नभएको गुनासो पोखे । उनले थपे,‘हावा हावामा कुरा गरेर हुन्छ ? नेकपा एमालेलाई गाली गर्दैमा के हुन्छ ?’
उनले अहिलेको संविधानमा नागरिकता, भाषा लगायत केही विषयमा पनि विवाद नभएको दाबी गरे । महासेठले थपे,‘कसको के के स्वार्थ होला, अनि त्यसको पक्षमा किन दौडिनु नि ?’
उनले नागरिकताको सवाललाई लिएर कडा प्रतिक्रिया दिए,‘अहिलेको संविधानमा उल्लेख भएको नागरिकताको प्रावधान संशोधन गर्नेपर्दैन् ।’ उनले अंगीकृत नागरिकताको विषलाई तराईमधेशमा कडा बनाउनुपर्ने बताए । यस्तो कुराले असली र सच्चा मधेशीहरुलाई घाटा हुने दाबी गरे ।
उनले सिमांकनको विवाद समाधानको लागि प्रदेशहरु काँटछाँट गर्ने कुरा पनि अमान्य रहेको बताए । उनले ५ नम्बर प्रदेशमात्रै तलमाथि गर्न नहुने धारणा राखे । महासेठले थपे,‘सिँगो ७ प्रदेश नै अवैज्ञानिक छ, हरेक दृष्टिकोणले चाहे विकासको दृष्टिकोणले होस वा अरु दृष्टिकोणले, अहिले नै यो कुरा किन गरिँदैछ ?’
उनले संविधान कार्यान्वयन हुन नदिने षडयन्त्रलाई आफ्नो पार्टीले चकनाचुर बनाउने समेत दाबी गरे । उनले आफ्नो पार्टीले अहिले चुनाव चाहेको समेत स्पष्ट पारे । महासेठले थपे,‘एमालेका सम्पूर्ण नेता, कार्यकताहरु चुनाव छिटो होस् भन्ने पक्षमा छन् ।’
उनले आगामी मंसिर १३ र १४ गते सर्लाहीमा हुन गइरहेको नेकपा एमालेको प्रदेश कमिटी अन्र्तगर्त २ नम्बर प्रदेशको भेलालाई लिएर विभिन्न टिकाटिप्पणी भएको उल्लेख गर्दै भने,‘यो हाम्रो पार्टीको भेला हो, पार्टीविरुद्ध मधेशी सांसदहरुले भेला गर्न लागे भनेर हल्ला फैलाइएको छ, यसमा ०.१ प्रतिशतपनि सत्यता छैन ।’
उनले एमालेको सहमतिविनै दुई तिहाईले संविधान संशोधन पारित भए आफ्नो पार्टीले त्यसको विरुद्धमा कुनै आन्दोलन वा विरोध नगर्ने समेत जनाए । यद्धपी उनले राष्ट्र र राष्ट्रियताको पक्षमा अलर्ट रहनको लागि भने पार्टी सर्तक रहेको बताए ।
टोपबहादुर रायमाझी कुन पार्टीको नेता हो ? : यादव
मधेशी मोर्चाका नेता एवं संघीय गणतान्त्रिक फोरमका अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन नगरीकन संविधान कार्यान्वयन हुनै नसक्ने जिकिर गरेका छन् ।
उनले प्रचण्ड नेतृत्वको सरकारले संशोधन प्रस्ताव दर्ता गराउने हल्ला चलेकोप्रति टिप्प्णी गर्दै भने,‘संशोधन प्रस्ताव अघि बढाउने प्रक्रियामा हाम्रो विमति छैन, तर प्रस्तावमा हामी सरोकारवालाहरुसँग कमसेकम छलफल गर्नुपर्छ ।’ उनले सरकारले के–के विषयमा संशोधन गर्ने भन्नेबारे कन्क्रिट प्रस्ताव ल्याउनुपर्ने जिकिर गरे ।
अध्यक्ष यादवले जनताको जनमतलाई मानर्दन गरेर तीन ठूला पार्टीहरुले जबरजस्ती फाष्ट ट्रयाकमा संविधान जारी गरेकोले अहिले कार्यान्वयनमा समस्या आएको बताउँदै भने,‘हाम्रा मागहरु सम्बोधन हुने प्रस्ताव आएमात्रै हामी प्रस्ताव स्विकार्छौं ।’ उनले विषयवस्तुमा सहमति नहुनेगरि प्रस्ताव आए आफूहरु आ–आफ्नो बाटो लाग्ने भन्दै आन्दोलनको चेतावनी समेत दिए ।
उनले प्रतिपक्षी दल नेकपा एमालेले मुलुकको समस्या समाधान गर्नको लागि कुनै किसिमको जिम्मेवारीता प्रर्दशन गरेको अहिलेसम्म ईतिहास नै नभएको आरोप लगाउँदै भने,‘एमालेको असली चरित्र भनेको नै समस्या बल्झाईराख्ने हो, चुनावबाट भाग्न खोज्दैछ ।’ उनले एमाले राष्ट्रिय कार्यभारबाट भाग्न नमिल्ने समेत स्पष्ट पारे ।
उनले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीको टिप्पणीले उनी कुन पार्टीको नेता भनेर आफूले बुझ्न नसकेको समेत गुनासो पोखे । उनले भने,‘संविधान संशोधन गर्नुपर्छ पनि भन्नुहुन्छ, अनि आन्दोलन जाजय छ भन्नुहुन्छ, त्यसैले उहाँ कुन पार्टीको नेता हो ?’