arrow

अदालतका तहसिलदारमाथि बलात्कारको मुद्दा, फरार आरोपी खोज्न प्रहरी परिचालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १४ शुक्रबार
dang-district-court.jpg

दाङ । दाङ जिल्ला अदालतका एक कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जबरजस्ती करणीको मुद्धा दर्ता भएको छ । प्रहरीका अनुसार पीडित महिलाले अदालतकै सरकारी क्वार्टरमा दिनदहाडै बलात्कार गरेको आरोप लगाउँदै अदालतका तहसिलदार निरन्जनबाबु पाण्डेमाथि जबरजस्ती करणीमा मुद्धा दर्ता भएको हो । 

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी तथा प्रवक्ता जनकबहादुर मल्लले पाण्डेविरुद्ध मुद्धा दर्ता भइसकेको पुष्टि गरे । उनले घटनाका आरोपी पाण्डेलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको बताए । 

साथै प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको पनि जनाएको छ । घोराही उपमहानगरपालिका– १७ की २८ वर्षीया ती महिलाले आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिएपछि प्रहरी घटना अनुसन्धानमा जुटेको छ । 

आरोपी तहसिलदार पाण्डेको दाङ जिल्ला अदालतबाट सरुवा भइसकेको छ । यसअघि उजुरी दिने ती महिला अदालतकै कर्मचारीलाई बलात्कारको झुटो आरोप लगाएको भन्दै अदालतले तोके बमोजिमको धरौटी रकम तिर्न नसकेपछि केहीदिन जेल चलान भएकी थिइन् । 

अदालतका कर्मचारीले प्रहरीमा दिएको किटानी जाहेरीमा आफूसँग महिलाले अनुचित लाभ लिन खोजेको कुरा उल्लेख थियो। सम्बन्ध विच्छेदपछि अंशमुद्दाका लागि अदालत पुगेकी ती महिलाले अदालतका तहसिलदारले आफूलाई अदालतभित्रै कोठामा जबरजस्ती बलात्कार गरेको आरोप लगाएको कर्मचारीको भनाइ छ । 

तहसिलदारसँग २५ हजार रूपैयाँ माग गर्दै नदिए बलात्कार मुद्दा हाल्ने धम्की दिएकी थिइन् । त्यसपछि आफू बाध्य भएर प्रहरीमा जानु परेको तहसिलदारले बताएका थिए। 

प्रहरीले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलले सोही ब्यहोरा सहितको ती महिलाविरूद्ध मुद्दा चलाएको थियो । चैत ७ गते जिल्ला अदालतमा न्यायाधीश लोकबहादुर हमालको इजलासमा भएको सुनुवाइमा ती महिलालाई डेढ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

धरौटी बुझाउन नसकेपछि महिला कारागार चलान भएकी थिइन्। धरौटी तिरेर छुटेपछि महिलाले पाण्डेविरुद्ध जबरजस्ती करणीको जाहेरी लिएर प्रहरीमा पुगेकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ