arrow

इलामको मतगणनामा अलमल, कसले गर्दैछ ढिलाइ ? आज परिणाम आउन नसक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
upanirwachan-2081.jpeg

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना गर्न ढिलाइ भइरहेको छ । गएरातिदेखि नै मतगणना गर्ने एक खालको सहमति भएको भए पनि मतगणनाका लागि ढिलाइ भएको हो । 

पहिले राति १० बजेपछि सर्वदलीय बैठक बसेर मतगणना गर्ने तयारी भएको थियो । तर मतपेटिका आउन नै ढिलाइ भएपछि गएराति सर्वदलीय बैठक बस्न सकेन । बिहान १ बजेमात्र मतपेटिका आएपछि बैठक नै बसेन । 

बिहान ७ बजे बैठक बस्ने भने पनि बैठक बस्न एक घण्टा ढिलाइ भएको थियो । बैठकले ११ बजेदेखि मतगणना गर्ने सहमति गरेको छ । 

यद्यपि यो सहमतिपछि पनि समयमै मतगणना होला त ? भन्ने प्रश्न खड्किएको छ । त्यतिमात्र होइन जम्मा २ ठाउँमा मात्र मतगणना गर्ने निर्वाचन आयोगले जनाएको छ । 

जबकि यसअघि हिजो ४ ठाउँमा गणना गर्ने एक खालको सहमति भएको थियो । 

एमालेका जिल्ला नेता राम रानाले अहिले २ ठाउँमा मात्र मतगणना गर्ने आयोगले जनाएको बताए । 

उनले यसै हो भने आज परिणाम आउन मुस्किल हुने बताए । यद्यपि ढिलाइ गर्नुको कारण भने उनले बताएनन् । 

त्यस्तै निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले न्यायाधीशको नेतृत्वमा मतगणना हुने भएकाले आफूहरुको हस्तक्षेप नहुने बताए । 

एउटामात्र क्षेत्रको मतगणना हुँदै गर्दा यसलाई ढिलाइ नगरी कम्तीमा चार ठाउँमा गणना गर्ने व्यवस्था गर्ने हो भने आजै परिणाम आउने विश्वास गरिएको थियो । 

तर जम्मा दुई ठाउँमा मात्र गणना गर्दा आज परिणाम आउने सम्भावना नै रहँदैन । स्थानीय नेताहरुले भने चार ठाउँमा मतगणना गरी छिट्टै गणना गर्न दबाब दिइरहेका छन् । 

शनिबार भएको मतदानमा इलाम २ मा ५९.७९ प्रतिशत मतदान भएको छ । यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २८७ मत खसेको छ । 

इलाम २ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । शान्तिपूर्ण रुपले सम्पन्न भएको चुनावमा एमालेका सुहाङ नेम्बाङ, नेपालीकांग्रेसका डम्बरबहादुर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ । 

यता निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको आरोपमा रास्वपाका लिम्बूलाई कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । यही कारणले नै कतै हस्तक्षेप गरेर मतगणनामा ढिलाइ भइरहेको त हैन भन्ने प्रश्न पनि उब्जेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ