arrow

इलामको मतगणनाको पहिलो परिणाम, कांग्रेस अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
ilam-2-count-22.jpeg

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणनाको ताजा मत परिणाम आएको छ । गौतमबुद्ध सभाहल (सिटी हल) इलाम नगरपालिका ७ मा भइरहेको मतगणनाको पहिलो ताजा विवरणअनुसार नेपाली कांग्रेस अगाडि छ । १५४१ मत गन्दा कांग्रेसका डम्बरबहादुर खड्काले ६५७, एमालेका सुहाङ नेम्वाङले ५३४, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८७ तथा रास्वपाका मिलन लिम्बूले ११५ मत ल्याएका छन् । 

मतगणना फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को सकिएको छ । यसको आधिकारिक विवरण भने निर्वाचन आयोगले दिएको छैन । 

अहिले वडा नम्बर २ को मतगणना भइरहेको छ । निकै सुस्त गतिमा गणना भइरहेको छ । प्रत्येक दुई घण्टामा अपडेट दिने भनिए पनि त्योसमेत सफल हुन सकेको छैन । 

मात्र दुई ठाउँमा राखेर गणना गर्दा ढिलाइ भएको हो । 

त्यसपछि चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, माई नगरपालिका, देउमाई नगरपालिका र अन्त्यमा इलाम नगरपालिकाको मतपत्र गणना हुनेछ ।

यसअघि दिउँसोमात्र मतगणना शुरु भएको हो । यसअघि बिहान ११ बजेदेखि मतगणना शुरु गर्ने जनाइएको थियो । 

त्यसअघि गएरातिदेखि नै मतगणना गर्ने एक खालको सहमति भएको भए पनि मतगणनाका लागि ढिलाइ भएको थियो । 

बिहान ८ बजेमात्र बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकपछि ११ बजेदेखि मतगणना गर्ने सहमति भएको भए पनि ढिला गरी गणना भएको हो । 

जम्मा २ ठाउँमा मात्र मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ । जबकि यसअघि हिजो ४ ठाउँमा गणना गर्ने एक खालको सहमति भएको थियो । 

जम्मा दुई ठाउँमा मात्र गणना गर्दा आज परिणाम आउने सम्भावना छैन । 

शनिबार भएको मतदानमा इलाम २ मा ५९.७९ प्रतिशत मतदान भएको छ । यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २८७ मत खसेको छ । 

इलाम २ मा १२ राजनीतिक दल र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ