- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणनाको ताजा मत परिणाम आएको छ । गौतमबुद्ध सभाहल (सिटी हल) इलाम नगरपालिका ७ मा भइरहेको मतगणनाको ताजा विवरणअनुसार २८३६ मत गणना हुँदा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ११४५ मत प्राप्त गरेका छन् ।
त्यस्तै एमालेका सुहाङ नेम्वाङले १०६३, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ३११ तथा रास्वपाका मिलन लिम्बूले २०९ मत ल्याएका छन् ।
मतगणना फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को सकिएको छ । यसको आधिकारिक विवरण भने निर्वाचन आयोगले दिएको छैन ।
यद्यपि वडा १ को भने मतपरिणाम आधिकारिक आएको छ । जसमा १५३८ मत खसेकामा कांग्रेसको ६५७, एमालेको ५३४, स्वतन्त्र थेगिमको १८७, रास्वपाको ११५ मत रहेको छ । १७ मत बदर भएको छ ।
राप्रपाले ४ मत ल्याएको छ ।
अहिले वडा नम्बर ३ को मतगणना भइरहेको छ । निकै सुस्त गतिमा गणना भइरहेको छ । प्रत्येक दुई घण्टामा अपडेट दिने भनिए पनि त्योसमेत सफल हुन सकेको छैन ।
मात्र दुई ठाउँमा राखेर गणना गर्दा ढिलाइ भएको हो ।
त्यसपछि चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, माई नगरपालिका, देउमाई नगरपालिका र अन्त्यमा इलाम नगरपालिकाको मतपत्र गणना हुनेछ ।
यसअघि दिउँसोमात्र मतगणना शुरु भएको हो । यसअघि बिहान ११ बजेदेखि मतगणना शुरु गर्ने जनाइएको थियो ।
त्यसअघि गएरातिदेखि नै मतगणना गर्ने एक खालको सहमति भएको भए पनि मतगणनाका लागि ढिलाइ भएको थियो ।
बिहान ८ बजेमात्र बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकपछि ११ बजेदेखि मतगणना गर्ने सहमति भएको भए पनि ढिला गरी गणना भएको हो ।
जम्मा २ ठाउँमा मात्र मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ । जबकि यसअघि हिजो ४ ठाउँमा गणना गर्ने एक खालको सहमति भएको थियो ।
जम्मा दुई ठाउँमा मात्र गणना गर्दा आज परिणाम आउने सम्भावना छैन ।
शनिबार भएको मतदानमा इलाम २ मा ५९.७९ प्रतिशत मतदान भएको छ । यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २८७ मत खसेको छ ।
इलाम २ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।