arrow

इलाममा कांग्रेसको अग्रता कायमै, मतान्तर घटाउँदै एमाले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
ilam-2-count-22.jpeg

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी रहेको छ । सुस्त गतिमा गौतमबुद्ध सभाहल (सिटी हल) इलाम नगरपालिका ७ मा भइरहेको मतगणनामा फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २ र ३ को गणना सकिएको छ । जसमा नेपाली कांग्रेसको अग्रता कायमै रहे पनि दोस्रो स्थानको एमालेले अन्तर घटाउँदै लगेको छ । 

कांग्रेसका डम्बरबहादुर खड्काले १६४३ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका सुहाङ नेम्वाङले १६०१ मत ल्याएका छन् । मतान्तर मात्र ४२ मतको रहेको छ । 

त्यस्तै तेस्रो स्थानका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४३७ तथा रास्वपाका मिलन लिम्बूले ३०५ मत ल्याएका छन् । 
निकै सुस्त गतिमा गणना भइरहेको छ । प्रत्येक दुई घण्टामा अपडेट दिने भनिए पनि त्योसमेत सफल हुन सकेको छैन । 

मात्र दुई ठाउँमा राखेर गणना गर्दा ढिलाइ भएको हो । त्यसपछि चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, माई नगरपालिका, देउमाई नगरपालिका र अन्त्यमा इलाम नगरपालिकाको मतपत्र गणना हुनेछ ।
शनिबार भएको मतदानमा इलाम २ मा ५९.७९ प्रतिशत मतदान भएको छ । यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २८७ मत खसेको छ । 

इलाम २ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

यो क्षेत्रमा यसअघि एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जितेका थिए । नेम्वाङको गत भदौमा निधन भएपछि उनको स्थानमा उपनिर्वाचन भएको हो । एमालेबाट उनकै छोरा सुहाङ मैदानमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ