काठमाडौं । देशभरका विभिन्न भन्सारमा कार्यरत एजेन्टहरुको प्रतिनिधित्व रहने भन्सार एजेन्ट संघहरुमध्ये अधिवेशन हुन बाँकी संघको यही पौष महिना भित्र अधिवेशन सम्पन्न हुने भएको छ । अघिल्लो वर्ष नै अधिवेशन हुन बाँकी रहेको बीरगञ्ज भन्सार एजेन्ट संघ र नियमितरुपमा अधिवेशन गर्ने बेला भएका मेची भन्सार र विराटनगर भन्सारको यही पौष महिना भित्र अधिवेशन गरिसक्ने तयारी भएको भन्सार एजेन्ट महासंघका अध्यक्ष जय शिवाकोटीले जानकारी दिए ।
भन्सार एजेन्ट महासंघको महाधिवेशन आउँदो असार महिनामा हुँदैछ । विधानले तोकेको समय अनुसार अहिलेको कार्यसमितिको कार्यकाल २०७४ सालमा सकिने अध्यक्ष शिवाकोटीले जानकारी दिए ।
उता, बीरगञ्ज भन्सार एजेन्ट संघमा भने अघिल्लो वर्ष हुनुपर्ने अधिवेशन अहिलेसम्म हुन सकेको छैन । अघिल्लो वर्ष तराई आन्दोलन भएकोले हुन नसकेको भनिएको अधिवेशन अहिलेसम्म पनि हुन नसकेको हो । तर तर अध्यक्ष शिवाकोटीले भने यो पुष भित्र उक्त संघको पनि अधिवेशन हुने जानकारी दिए ।
पौष महिना भित्रै अधिवेशन गर्ने तयारी भएसँगै संघको अध्यक्षमा उम्मेदवारी दिन उम्मेदवारी दिन आकांक्षा देखाउनेको लर्काे देखिन थालेको छ । अहिलेसम्म अध्यक्षमा ४ जनाले आकांक्षा देखाएका छन् । महासंघको अधिवेशनमा सबैभन्दा बढी पार्सद् आउने संघ पनि बीरगञ्ज नै रहेकोले पनि यसको नयाँ नेतृत्वको निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।
अहिले संघमा प्रतिनिधित्व गर्न इच्छुकहरुमा काशीराज उपाध्याय, श्याम कट्टेल, बालकृष्ण बस्नेत र नन्दू जी मलले अध्यक्षमा आकांक्षा देखाएको संघका एक सदस्यले जानकारी दिए ।
सबैभन्दा धेरै पार्सद् आउने बीरगञ्जबाट १३ जना जति केन्द्रीय प्रतिनिधि आउँछन् भने सबैभन्दा थोरै पार्सद् जनकपुर, तातोपानी र पश्चिम नेपालबाट समान ३ जना पार्सद् आउनेछन् । यो सदस्यको आधारमा हेरफेर पनि हुने गर्दछ । हरेक ५ जना सदस्यमध्ये एक जना पार्सद् बनेर केन्द्रमा आउँछन् ।
उता, महासंघमा भने यो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका डा. शान्तकुमार शर्मालाई नै अध्यक्ष बनाउने तयारी भईरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघको सदस्य पनि रहेको र महासंघले पनि यस्तै विधान पारित गराएकोले यहाँ पनि सोही प्रणाली लागू गर्ने मौखिक सहमति भईसकेको महासंघले जनाएको छ ।