arrow

फिडेल क्यास्ट्रो : एक क्रान्तिकारी नेता

logo
प्रकाशित २०७३ मंसिर ११ शनिबार
fidel-castro.jpeg
हवाना । ९० वर्षको उमेर पार गर्नुभएका क्युबाका पूर्वराष्ट्रपति तथा क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोको गएराति निधन भएको छ । स्वर्गिय क्यास्ट्रोका पिता स्पेनबाट बसाइ सर्दै आएर पूर्वी क्युबाको चर्चित चिनी उत्पादन क्षेत्रमा बसोबास गर्ने आप्रबासी हुनुहुन्थ्यो र सुरु शुरुमा अमेरिकी चिनी उत्पादक कम्पनीहरुलाई श्रमिक आपूर्ति गर्ने ठेकेदारी काम गर्दै पैसा कमाउनु भएपछि आफैँले ठूलो लगानीमा उखुको खेती गर्ने र चिनी उत्पादन गर्ने कारखाना खोली उत्पादित चिनी अमेरिका निर्यात गर्ने उद्योग ब्यबसाय चलाउनु भएको थियो ।
 
सन् १९२६ को अगस्ट १३ का दिन जन्मनु भएका स्वर्गिय क्यास्ट्रोको पूरा नाम फिडेल क्यास्ट्रो रुज हो । क्रिश्चियन धर्म अध्यापन गरिने विद्यालय – जेसुइट स्कूलबाट प्रारम्भिक शिक्षा आर्जन शुरु गर्नु भएका स्वर्गिय क्यास्ट्रो हवाना विश्वविद्यालयबाट कानून र समाज विज्ञान विषयमा स्नातकोत्तर उपाधिले बिभूषित हुनुहुन्थ्यो । 
 
उहाँले करिब आधा शताव्दिसम्म अबिच्छिन्न शासनको बागडोर सम्हाल्नु भएको र क्युबामा तत्कालिन सोभियत संघ शैलिको समाजबादी अर्को शव्दमा भनौं भने साम्यबादी शासन प्रणाली लागु गर्नु भएको र आफ्नो शासनकालभरी दशवटा अमेरिकी राष्ट्रपतिसँग कडा टक्कर लिँदै उनीहरुको जमेर निन्दा समेत गर्नु भएको थियो । उहाँका भाई, वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले सरकारी टेलिभिजन प्रसारणमा थर्थराएको स्वरमा सम्बोधन गर्दै शुक्रबार राति १०:३० मा उहाँको निधन भएको पुष्टि गर्नु भएको थियो । 
 
सम्बोधनको अन्त्यमा राष्ट्रपति राउलले स्वर्गिय जेठो दाजुलाई स्मरण गर्दै भावविह्वल भएर विगतको क्युबाली क्रान्तिका समयमा समूहमा गाइने गरेको बहूचर्चित “टुवार्ड भिक्टोरी अल्वेज” शीर्षकको क्रान्तिगान ठूलो स्वरमा कराउँदै गाउनु भएको थियो । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यबाट दक्षिणतर्फ एकसय ४५ किलोमिटर मात्र टाढा रहेको द्वीपीय राष्ट्र क्युबाले स्वर्गिय राष्ट्रपति क्यास्ट्रोको शासनकालका बिभिन्न समयमा धेरै पटक जनबिद्रोह बेहोर्नु परेको इतिहासले बताउँछ । 
 
यीमध्ये, अमेरिका समर्थित सन् १९६१ को “बे अफ पिग्स इन्भेजन” र त्यसको एक वर्ष पछि घटेको क्युबाली क्षेप्यास्त्र सङ्कट “क्युबान मिसाइल क्राइसिस” ले सम्पूर्ण विश्वलाइ नै आणविक युद्धको भुवँरीभित्र धकेल्न खोजेका थिए । जहिले पनि लामा लामा दाह्री पाल्न सोखिन यी क्रान्तिकारी नेताले धेरै वर्षसम्म अतिशय कडा अमेरिकाली ब्यापार तथा बाणिज्य माथिको प्रतिबन्धको सामना गर्नु परेको थियो । 
 
साथै, उहाँको ज्यानै लिने उद्देश्यले आफ्नै देशभित्र र बाहिरबाट रचिएका दर्जनौँ, अझ भन्नुपर्दा सयौँ षडयन्त्रबाट समेत बच्दै आउनु भएको थियो । जीवनको उत्तरार्धमा कडा रोगले ग्रस्त पारेर शिथिल र अशक्त हुनुभएपछि उहाँले आफ्ना भाई राउल क्यास्ट्रोलाई आजभन्दा १० वर्षअघि देशको शासन सत्ता र शक्ति सुम्पिनु भएको थियो । जहिले पनि सिगार तान्न सोखिन स्वर्गिय राष्ट्रपतिको समर्थन र विरोधमा हालसम्म विश्वभर लेखिएका हजारौं कथा, कहानी, लेख, रचना, समालोचना ईत्यादि प्रकाशनमा आइसकेका छन् ।
 
उहाँलाई एक अत्यन्त कडा परिश्रमी, एक निडर योद्धा, एक प्रखर राजनीतिक चिन्तक, एक कुशल तर कडा शासक, एक सैनिक तानाशाह, वाक्–सिद्धि भएको एक भविष्यवक्ता, अमेरिकाको एक कट्टर विरोधी इत्यादिका रुपमा चित्रण गरिएको छ । उहाँ एक शक्तिशाली सेनापति मात्र नभई अदम्य साहसयुक्त, अनौठो वाक्पटुताले सम्पन्न र प्रभावशाली नेतृत्व दिनसक्ने राजनेता हुनु भएकाले विश्व भरी नै परिचित हुनुहुन्छ । 
 
“समाजबाद र मृत्युमध्ये एउटा रोज” भन्ने चिन्तन र नाराका साथ अघि बढ्नु भएका स्वर्गिय क्यास्ट्रोले समाजबादी शासन प्रणाली लागु गरे ता पनि आफ्नो जीवनपर्यन्त क्युबामा सोही अनुरुप आर्थिक परिवर्तन र समृद्धि भने ल्याउन सक्नु भएन । पश्चिमा शैलिको प्रजातन्त्रको लहरले समग्र विश्वलाई बिस्तारै ढाक्दै ल्याएपछि चीन र भियतनामजस्ता कट्टर बामपन्थी मुलुकहरु समेत अहिले यही लहरबाट प्रभावित भएर माक्र्सबाद लेनिनबादका मूल सिद्धान्तबाट ओझेलमा पर्दैछन् । 
 
त्यसैगरी, एक करोड दशलाख जनसंख्या भएको देश क्युबा पनि पश्चिमा शैलिको प्रजातन्त्रको प्रभावबाट अछूतो छैन । क्यास्ट्रोको निधन पश्चात् केही वर्षमै “क्युबामा त्यसबेलाको राष्ट्रपति फिडेल क्यास्ट्रोले लागु गरेका माक्र्सबादी अर्थतन्त्र धेरै बर्षसम्म धर्मराउँदै बाँचिरहेको थियो रे” भनी आगामी पिँढीले उत्सुकतापूर्वक पढ्ने इतिहास बन्नेछ भन्ने एकथरी क्युबाली राजनीतिक चिन्तकहरुको बिश्लेषण रहेको छ । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ