रोल्पा । संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशबाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पालीले सोमबार आधा दिन जिल्ला बन्द गरेका छन् । यसअघि युवा विद्यार्थीको विरोध जुलुस र महिलाको विरोध जुलुसले एक घन्टे चक्काजामसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइ सकेका छन् ।
सोमबार बिहानैदेखि रोल्पाका लामो तथा छोटो दूरीका सवारीसाधन गुडेका छैनन् भने बजार, होटल,विद्यालय र उद्योगधन्दा पनि ठप्प रहेका छन् ।
रोल्पालाई टुक्र्याउन नदिन सप्ताहव्यापी आन्दोलन गरिएको अखण्ड ५ नम्बर प्रदेश सरोकार समितिका सदस्य सचिव महेश न्यौपानेले बताए ।
आन्दोलनकारीको माग नसुनी जबर्जस्ती गर्न खोजिए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने सरोकार समितिले बताएको छ ।
५ नम्बर प्रदेशबारे काँग्रेसले पनि विरोध गर्ने जनाएको छ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी पनि जोडतोडले लागेका छन् । उनले संसदमा मतदान गर्नुपरे आफ्नै पार्टीको विपक्षमा मत हाल्ने धम्की नेतृत्वलाई दिइसकेका छन् ।
नेकपा एमालेले पहिलेदेखि नै विरोध गरिरहेको छ । मधेस र पहाडलाई टुक्रयाउने गरी हुन लागेको भनिएको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ ।