arrow

पोखरा महानगरपालिका न्यायिक समिति उत्कृष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
melmilap-talim.jpg

पोखरा । पोखरा महानगरपालिकाकी कार्यबाहक प्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले पोखरा महानगरपालिका न्यायिक समिति उत्कृष्ट रहेको दाबी गरेकी छन् ।

पोखरा महानगरपालिका न्यायिक समितिद्वारा आयोजित मेलमिलापसम्बन्धी पुनर्ताजगी तालिम उद्घाटन गर्दै उनले यस्तो दावी गरेकी हुन् ।

सरकार बन्नका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका हुनुपर्ने भन्दै उनले सरकारको न्यायपालिकाको रुपमा न्यायिक समिति रहेको उल्लेख गरिन् ।

कावा प्रमुख गुरुङले विवाद समाधानका लागि मेलमिलापकर्ताको मन मिलाउने कार्यमा इमान्दारीताका साथ लाग्नुपर्नेमा जोड दिइन् ।

गुरुङले विवादले फाटेका मनलाई मेलमिलापका माध्यमबाट सिलाउने प्रयत्न मेलमिलापकर्ताले गर्ने भएकाले तालिमको आयोजना गरिएको जानकारी दिइन् ।

उनले स्थानीय तहबाटै विवाद उत्पन्न हुने भएकाले वडाबाटै यसको समाधान गर्ने उद्देश्यले वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको बताइन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले नयाँ कुरा सिक्ने अवसर प्राप्त गर्ने भएकाले तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।

एमाले दलका नेता राधिका शाही योगीले तालिम सशक्त र मेलमिलाप गराउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् । मेलमिलापकर्तालाई केही अप्ठ्यार भएपनि विवाद समाधानका लागि प्रयास गरिरहेको भन्दै उनले त्यसका लागि वडा र महानगरले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

कांग्रेस दलका नेता दिवसमान प्रधानांगले न्यायिक समितिले उत्कृष्ट कार्य गरेको बताए । उनले वडामा हुने विवाद मेलमिलापमार्फत समाधान गरी नागरिकलाई सहजरुपमा न्याय दिलाउनुपर्नेमा जोड दिए ।

महानगर न्यायिक समिति सदस्य कालिदास पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा न्यायिक समिति सदस्य रजनी परियार, मेलमिलापकर्ताद्वय जमुना पराजुली, केशवराज बराल र महानगर न्यायिक समितिका मेलमिलाप सहजकर्ता सोमनाथ लम्सालले बोलेका थिए ।

पोखरा महानगरमा हाल एक सय ६९ जना मेलमिलापकर्ता सूचिकृत भएको र पहिलो चरणमा १ देखि १८ नम्वर वडाका मेलमिलापकर्तालाई तालिम सञ्चालन गरिएको हो ।

मेलमिलापकर्ता संयोजक सोमनाथ लम्सालका अनुसार १९ देखि ३३ नम्वर वडाका मेलमिलापकर्तालाई जेठ ९ देखि ११ गतेसम्म दोस्रो चरणमा तालिम सञ्चालन गरिने छ । “मेलमिलाप गरौँ, सम्बन्ध बढाऔँ” भन्ने उद्देश्यसहित आयोजित तालिम तीन दिन सञ्चालन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ