arrow

सुशासनमा चुनौती

गृहमा विवादित कर्मचारीहरुकै बाहुल्यता, बालेनले कारबाही गरेका अधिकारीलाई रविले गरे स्वागत

कीर्तेकाण्डको छानबिन गर्नु  पर्ने दायित्व बोकेको गृह मन्त्रालयमै रविले बसन्तलाई किन लगे भन्नेमा शंका उत्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २ बुधबार
home-ministry-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले ठूलो संख्यामा सहसचिव सरुवा गर्दा कीर्ते काण्डमा मुछिएका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाएको छ । कर्मचारी भर्ना प्रकरणमा कीर्ते काण्डमा मुछिएपछि काठामडौँ महानगरपालिकाले हाजिर गर्न नदिएपछि सरुवा मागेर हिँडेका अधिकारीलाई गृहमन्त्री रवि लामिछानेले आफ्नो मन्त्रालयमा ल्याएका हुन् । 

काठमाडौँ महानगरपालिका स्वास्थ्य प्रबर्द्धन केन्द्रमा कर्मचारी भर्ती गर्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी ‘कीर्ते’ काण्डमा मुछिएका थिए  । 

त्यतिबेला काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी खोसेर हाजिर गर्न दिइएको थिएन । 

महानगरपालिकाको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै मेयर वालेन्द्र साह (बालेन) ले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई १६ पुसमा बिदामा बस्न निर्देशन दिएका थिए भने तीन कर्मचारीलाई निलम्बन गरेका थिए ।

कार्यपालिकाकै निर्णयमा कैफियत भेटिएपछि क्रुद्ध बनेका मेयर बालेनले उनलाई थुन्नसमेत भनेका थिए । गल्ती स्वीकार्दै अधिकारीले कार्यपालिकाको निर्णय प्रमाणीकरण गर्दा आफूलाई झुक्काएर हस्ताक्षर (सही) गराइएको प्रशासनसँग बताएका थिए । 

बालेनको सचिवालयले ल्याएको निर्णय प्रमाणीकरण गर्ने क्रममा दुई वटा पानामा फरक–फरक तथ्याङ्क राखेर आफूलाई झुक्काएको उनको भनाइ थियो ।  त्यस विषयमा छानवीन समिति नै बनाइएको थियो । 

समितिले छानबिन गरिरहँदा महानगर फर्किन खोजेपछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीको कार्यकक्षमा ताला लगाइएको थियो । 

उनीसँगै उक्त काण्डमा मुछिएका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल अहिले पनि महानगरमा जान सकेका छैनन् । महानगरबाट कारबाही भोगेर हाजिर गर्न नपाएपछि अधिकारी काठमाडौँ महानगरपालिकाबाट मधेसी आयोगका सरुवा भएका थिए ।

 कीर्तेकाण्डको छानबिन गर्नु  पर्ने दायित्व बोकेको गृह मन्त्रालयमै लामिछानेले बसन्तलाई किन लगे भन्नेमा शंका उत्पन्न भएको छ । 

रविको मन्त्रालयमा विवादितहरुकै बाहुल्यता रहेको छ । नक्कली लाइसेन्स प्रकरणमा मुछिएका गोगनबहादुर हमाल र नारायणप्रसाद भट्टराई पनि त्यही रहेका छन् । 

अर्का विवादित सहसचिव रुद्रप्रसाद पण्डितलाई भने सरुवा गरिएको छ । अर्का विवादास्पद कर्मचारी रामचन्द्र तिवारी पनि गृहमा आएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ