राहदानी प्रणालीः एक करोड नागरिकको डाटा नयाँ प्रणालीमा स्थानान्तरण
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
426
Shares
काठमाडौँ। राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डाटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गर्दै नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
विभागका अनुसार करिब एक करोड नेपाली नागरिकको राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ, जसलाई सार्वजनिक सेवा प्रवाहमा महत्वपूर्ण डिजिटल रूपान्तरणका रूपमा हेरिएको छ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले सोमबार जारी गरेको सूचनाअनुसार नयाँ प्रणाली २०८३ असार २९ गतेदेखि कार्यान्वयनमा आएको हो। नयाँ सूचना प्रविधिमा आधारित प्रणालीमार्फत राहदानी सेवा अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखिएको विभागले जनाएको छ।
यद्यपि नयाँ प्रणालीको प्रारम्भिक चरणमा केही प्राविधिक समस्या, प्रणालीको गति सुस्त हुने तथा राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने विभागले स्वीकार गरेको छ।
विभागका अनुसार यस्ता चुनौती नयाँ प्रणाली सञ्चालनको सुरुवाती चरणमा स्वाभाविक हुन् र तिनको समाधानका लागि आवश्यक सबै तयारी गरिएको छ।
विभागले प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू चौबीसै घण्टा खटिएर प्रणालीको निरन्तर अनुगमन, परीक्षण र सुधारको काम गरिरहेको जनाएको छ।
देखिएका समस्या तत्काल समाधान गर्दै दीर्घकालीन रूपमा थप स्थिर र विश्वसनीय प्रणाली निर्माण गर्न आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको विभागको भनाइ छ।
प्रारम्भिक चरणमा अत्यावश्यक परेका सेवाग्राहीलाई मात्र राहदानीका लागि आवेदन दिन विभागले अनुरोध गरेको छ। यसले प्रणालीमाथिको प्रारम्भिक चाप कम हुने र सेवा क्रमशः सहज बन्दै जाने विभागको विश्वास छ।
साथै, राहदानीसम्बन्धी सूचना प्राप्त गर्दा विभाग वा परराष्ट्र मन्त्रालयका आधिकारिक माध्यमबाट जारी भएका सूचनालाई मात्र आधार बनाउन आग्रह गरिएको छ।
विभागले नयाँ प्रणालीमार्फत नेपाली नागरिकलाई अझ चुस्त, छरितो, सुरक्षित र विश्वसनीय राहदानी सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ।