arrow

अपाङ्गता भएकालाई धरपकड गर्न निर्देशन दिएको भन्दै गृहमन्त्री लामिछानेको राजीनामा माग 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २ बुधबार
bhojraj-shrestha-81-2-2.jpg

काठमाडौँ । राष्ट्रिय लोकतान्त्रिक अपांग संघका पूर्व अध्यक्ष भोजराज श्रेष्ठले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् । अहिलेसम्मका सबै राजनीतिक परिवर्तनका आन्दोलनमा अपांगता भएकाहरुको सक्रिय सहभागिता भए पनि अहिलेजस्तो दमन यसअघिको सरकारले नगरेको भन्दै श्रेष्ठले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका हुन् । 

उनले राजीनामा नदिने हो भने सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताए ।  सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै आन्दोलित अपांगता भएका व्यक्तिहरूमाथि बुधबार प्रहरीले डंडा चलाएसँगै आन्दोलनकारीहरु आक्रोशित भएका हुन् । 

सो क्रममा पूर्वअध्यक्ष श्रेष्ठले आन्दोलनकारीमाथि डन्डा चलाउन आदेश दिने गृहमन्त्री र डन्डा चलाउने प्रहरीमाथि कारबाही गर्न माग गरेका हुन् । 

बुधबार निकालिएको र्यालीमा प्रहरीले धरपकड गरेको हो । सो क्रममा र पूर्वअध्यक्ष भोजराज श्रेष्ठसहित केही घाइते भएका छन् । घाइतेहरु ऋषि ढकाल, शर्मिला विश्कर्मा, बेगबहादुर तामाङ, लक्ष्मण मगर, रमेश खड्का बहिरा र गीता ढकालको वीर अस्पतालमा उपचार भइरहेको छ । सात जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

 त्यस्तै प्रहरीले आन्दोलित १८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पत्रकारसमेत रहेका छन् । 

पक्राउ पर्नेहरुमा आन्दोलन संयोजक विकास थापा, सदस्यहरु सुगम भट्टराई, पर्वतराज विष्ट, कृतन दुवाल, विरुकेयल श्रेष्ठ, बासुदेव यादव, गोपाल मोक्तान, सीता भण्डारी, गंगा राई, दानबहादुर थिङ रहेका छन् ।

त्यस्तै पत्रकार शर्मिला विश्वकर्मा, रमेश खड्का, भभिभावकहरु लक्ष्मी बस्नेत, राजेन्द्र महर्जन, बेग लामा, लक्ष्मण मगर, बिनिता रेग्मी र शरण श्रेष्ठ रहेका छन् ।  

उनीहरुलाई पक्राउ गरी अनामनगर चौकीमा राखिएको छ । अपांगता भएका व्यक्तिसँग भएको सम्झौता कार्यान्वयन गराउन अनसनरत दीपक भण्डारीको जीवन रक्षाको लागि संयुक्त रुपमा रत्नपार्कदेखि भृकुटीमण्डपसम्म निकालिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले धरपकड गरेको हो । 

यसअघि गत आइतबार उनीहरुले काठमाडौँमा ४५ मिनेट चक्काजाम गरी दबाबपूर्ण ¥याली निकालेका थिए । 

शान्ति वाटिकामा भेला भएका उनीहरूले भद्रकालीमा पुगी कार्यक्रम सञ्चालन गरेका थिए । तनहुँका दीपक भण्डारी शान्ति वाटिकामा १६ दिनदेखि अनसनरत छन् । उनले गत चैत ६ गतेदेखि अनिश्चितकालीन धर्ना शुरु गरेका थिए । 

चैत १४ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र भण्डारीबीच माग सम्बोधनको सहमति भएको थियो । सहमतिअनुसार सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यही बैशाख १ देखि सुरु गर्ने भनिएको थियो । 

यसका लागि तीन सदस्यीय समिति गठन गरेर आवश्यक कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन बनाइयो । तर प्रतिवेदन लागू नभएको भन्दै भण्डारीले यही वैशाख १८ देखि अनसन थालेका हुन् । 

राष्ट्रिय लोकतान्त्रिक अपांग संघका निवर्तमान अध्यक्ष भोजराज श्रेष्ठका अनुसार आइतबारको कार्यक्रमबाट पनि सुनुवाइ नभएपछि बुधबार त्यो भन्दा ठूलो र्याली निकालिएको बताए । 

कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ, बौद्धिक अपांगता अभिभावक महासंघ, राष्ट्रिय अपाङ्ग महासंघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ लगायतको ऐक्यवद्धता रहेको छ । 

अनसनरत दीपक भण्डारीको जीवनरक्षाको माग राखेरसमेत आन्दोलन गरिएको श्रेष्ठले बताए । उनले आगामी जेठ ८–९ गतेसम्म पनि माग पूरा नभए सामूहिक आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ