arrow

अपाङ्गता भएकाहरुको प्रदर्शनको दमनप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
disabled-attack-=police-81-.jpg

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरुको प्रदर्शनमा भएको दमनप्रति राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले घटनाको अनुगमन गरेकोसमेत जनाएको छ । 

यसअघि बुधबार गरिएको प्रदर्शनमा अत्यधिक बल प्रयोग गरिएको पूर्ण अशक्त अपाङ्गता भएका दीपक भण्डारीको जीवन रक्षासँगै अपाङ्गता भएकाहरुसँगको सहमति पालना गर्न सरकारलाई दबाब दिन आयोजित प्रदर्शनमा दमन भएको भन्दै नेपाली कांग्रेसले भत्सर्ना गरेको थियो । 

कांग्रेसले न्यायोचित माग पूरा गर्न आग्रह गर्दै अपाङ्गता भएका व्यक्तिहरुको संवेदनशीलतामाथि ख्यालै नगरी भएको यस प्रकारको दमन र धरपकडको भत्सर्ना र निन्दा गरेको हो । 

यसअघि  राष्ट्रिय लोकतान्त्रिक अपांग संघका पूर्व अध्यक्ष भोजराज श्रेष्ठले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका थिए । अहिलेसम्मका सबै राजनीतिक परिवर्तनका आन्दोलनमा अपांगता भएकाहरुको सक्रिय सहभागिता भए पनि अहिलेजस्तो दमन यसअघिको सरकारले नगरेको भन्दै श्रेष्ठले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका हुन् । 

उनले राजीनामा नदिने हो भने सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताए ।  सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै आन्दोलित अपांगता भएका व्यक्तिहरूमाथि बुधबार प्रहरीले डंडा चलाएसँगै आन्दोलनकारीहरु आक्रोशित भएका हुन् । 

सो क्रममा पूर्वअध्यक्ष श्रेष्ठले आन्दोलनकारीमाथि डन्डा चलाउन आदेश दिने गृहमन्त्री र डन्डा चलाउने प्रहरीमाथि कारबाही गर्न माग गरेका हुन् । 

बुधबार निकालिएको र्यालीमा प्रहरीले धरपकड गरेको हो । सो क्रममा र पूर्वअध्यक्ष भोजराज श्रेष्ठसहित केही घाइते भएका छन् । घाइतेहरु ऋषि ढकाल, शर्मिला विश्कर्मा, बेगबहादुर तामाङ, लक्ष्मण मगर, रमेश खड्का बहिरा र गीता ढकालको वीर अस्पतालमा उपचार भइरहेको छ । सात जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

 त्यस्तै प्रहरीले आन्दोलित १८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पत्रकारसमेत रहेका छन् । 

पक्राउ पर्नेहरुमा आन्दोलन संयोजक विकास थापा, सदस्यहरु सुगम भट्टराई, पर्वतराज विष्ट, कृतन दुवाल, विरुकेयल श्रेष्ठ, बासुदेव यादव, गोपाल मोक्तान, सीता भण्डारी, गंगा राई, दानबहादुर थिङ रहेका छन् ।

त्यस्तै पत्रकार शर्मिला विश्वकर्मा, रमेश खड्का, भभिभावकहरु लक्ष्मी बस्नेत, राजेन्द्र महर्जन, बेग लामा, लक्ष्मण मगर, बिनिता रेग्मी र शरण श्रेष्ठ रहेका छन् ।  

उनीहरुलाई पक्राउ गरी अनामनगर चौकीमा राखिएको छ । अपांगता भएका व्यक्तिसँग भएको सम्झौता कार्यान्वयन गराउन अनसनरत दीपक भण्डारीको जीवन रक्षाको लागि संयुक्त रुपमा रत्नपार्कदेखि भृकुटीमण्डपसम्म निकालिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले धरपकड गरेको हो । 

यसअघि गत आइतबार उनीहरुले काठमाडौँमा ४५ मिनेट चक्काजाम गरी दबाबपूर्ण ¥याली निकालेका थिए । 

शान्ति वाटिकामा भेला भएका उनीहरूले भद्रकालीमा पुगी कार्यक्रम सञ्चालन गरेका थिए । तनहुँका दीपक भण्डारी शान्ति वाटिकामा १६ दिनदेखि अनसनरत छन् । उनले गत चैत ६ गतेदेखि अनिश्चितकालीन धर्ना शुरु गरेका थिए । 

चैत १४ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र भण्डारीबीच माग सम्बोधनको सहमति भएको थियो । सहमतिअनुसार सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यही बैशाख १ देखि सुरु गर्ने भनिएको थियो । 

यसका लागि तीन सदस्यीय समिति गठन गरेर आवश्यक कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन बनाइयो । तर प्रतिवेदन लागू नभएको भन्दै भण्डारीले यही वैशाख १८ देखि अनसन थालेका हुन् । 

राष्ट्रिय लोकतान्त्रिक अपांग संघका निवर्तमान अध्यक्ष भोजराज श्रेष्ठका अनुसार आइतबारको कार्यक्रमबाट पनि सुनुवाइ नभएपछि बुधबार त्यो भन्दा ठूलो र्याली निकालिएको बताए । 

कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ, बौद्धिक अपांगता अभिभावक महासंघ, राष्ट्रिय अपाङ्ग महासंघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ लगायतको ऐक्यवद्धता रहेको छ । 

अनसनरत दीपक भण्डारीको जीवनरक्षाको माग राखेरसमेत आन्दोलन गरिएको श्रेष्ठले बताए । उनले आगामी जेठ ८–९ गतेसम्म पनि माग पूरा नभए सामूहिक आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ