- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सभामुख देवराज घिमिरेलाई पटक–पटक एउटै चार्ज लाग्दै आएको छ –त्यो हो एमालेको कार्यकर्ता । बिहीबारको संसदमा पनि यो प्रश्न र आरोपले सभामुखलाई छाडेन ।
सभामुखलाई सत्ता गठबन्धनमध्ये सबैभन्दा ठूलो दल नेकपा एमालेको कार्यकर्ता र नेताको रुपमा प्रस्तुत भएको आरोप लाग्यो । यो आरोपबाट उनी मुक्त हुने ठाउँ छैन ।
संसदको काम कारबाहीमा प्रमुख प्रतिपक्ष दलले विरोध गरेपछि त्यसलाई संसदबाटै सभामुखले टुंग्याउनुपर्ने थियो तर गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई बोल्न दिएर सभामुखले नै संसदलाई मुठभेडतर्फ लगे ।
प्रतिनिधि सभाको बिहीबारको दृश्य नेपालको संसदीय इतिहासको लज्जाको रुपमा देखिएको छ । प्रतिपक्षहरुको अवरोधबीच मन्त्रीलाई बोल्न समय दिने सभामुखको निर्णय पूर्णत ‘विवेकहीन’ थियो ।
सत्तापक्षका दलका नेता, प्रमुख सचेतक र सभाकै उपसभामुख नाराबाजी गरिरहेका सांसदसँग नोकझोँकमा उत्रिनु झन गलत भएकाले पनि यसलाई सभामुखले चलाखीपूर्ण रुपले समाधान गर्न सक्ने बाटो हुँदाहुँदै रोक्न सकेनन् ।
यसअघि सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएका थिए । सभामुखले संसद् नियमावलीअनुसार सदन नचलाएको र निष्पक्ष भूमिका निर्वाह नगरेको उनीहरूको आरोप थियो ।
गत भदौ असोजमा एमालेले संसद अवरोध गरिरहेको बेला अहिलेको सत्ता पक्ष रहेको रास्वपाले यही आरोप लगाएको थियो ।
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै एमालेले १० साउनदेखि दुवै सदन अवरुद्ध गर्दै आएको थियो ।
अहिले कांग्रेस लगायतका दलहरुले आरोप लगाएका छन् । समग्रमा उनी संसद चलाउने क्षमताबाट असफल हुँदैछन् ।
बिहीबारको संसदको दृष्य हेर्दा बैठकमा कांग्रेसले अवरोध गरिरहेकै बेला गृहमन्त्री लामिछानेलाई सभामुख घिमिरेले बोल्न समय दिएपछि प्रतिनिधि सभामा असहज अवस्था बनेको स्पष्ट थियो ।
गृहमन्त्री लामिछानेलाई रोष्ट्रममा जान नदिने गरी नाराबाजी गरिरहेको कांग्रेस सांसदलाई हटाएर बाटो खुलाउन सत्ता पक्षका सांसदहरु लागेपछि मुठभेड भएको थियो ।
उपसभामुख ईन्दिरा राना, एमालेका प्रमुख सचेतक महेश बर्तौला लगायतले लामिछानेलाई रोष्ट्रममा पुर्याउन वेलमै पुगेर बाटो देखाएको स्पष्ट देखिन्थ्यो ।
गृहमन्त्री लामिछानेलाई बोल्न दिनुअघि नै सभामुखले विपक्षीलाई चिढ्याउने काम गरेका थिए ।
अवरोधकै बीच सभामुख घिमिरेले विपक्षीलाई चिढ्याउने शैलीमा राष्ट्रपति कार्यालयबाट प्राप्त दुई वटा पत्र पढेर सुनाएपछि विपक्षीहरु थप आक्रोशित हुनु स्वभाविक नै थियो ।
यसले गर्दा उनी निष्पक्षता र तटस्थातको प्रतिक मानिने सभामुखको जिम्मेवारी निर्वाह गर्नबाट चुकेको दलीय छायाँ बनेको प्रतित हुनु स्वभाविक जस्तै देखिएको छ ।
अझ कांग्रेसलाई उक्साउने काम भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । उनले वेल घेराउ गर्न पुगेका कांग्रेस कांग्रेस सांसदहरुलाई तपाईहरु यहाँ उभिन पाउनु हुन्न भनेर झन् मुठभेडतर्फ लैजान उक्साउँदै थिए ।
प्रतिपक्ष दल कांग्रेसको विरोधकाबीच अघि बढ्न खोजेपछि राप्रपा र लोसपाले पनि उभिएर विरोध गरेका थिए ।
बिहीबारको बैठकमा सबैजसो विपक्षीहरुले विरोध गरेका थिए । कांग्रेस सांसदहरुले जबर्जस्ती बन्द गर्न भन्दै पनि नाराबाजी गरेपछि सभामुख जबर्जस्ती नै अघि बढ्न खोजेको स्पष्ट थियो ।
उनीहरुले संसदीय मर्यादा कायम गर्न पनि माग गरेका थिए । सहकारी ठगलाई कारबाही गर्न भन्दै कांग्रेस सांसदहरुले नाराबाजी गरेका थिए ।
सांसदहरुले केहीबेर नाराबाजी गरेपछि सभामुख घिमिरेले राष्ट्रपतिले पठाएको बैशाख ३१ मा मन्त्री र राज्यमन्त्री नियुक्तिको पत्र पढेर कार्यसूची अघि बढाए । जबकि संसदीय मर्यादा र परम्परामा यो गलत थियो ।
त्यसपछि उनले गृहमन्त्री लामिछानेलाई बोल्नका लागि समय दिए । त्यसपछि कांग्रेस सांसदहरुले लामिछानेलाई रोस्ट्रममा जानबाट रोके । यहीबीचमा सत्ता पक्ष र प्रतिपक्षबीच धकेलाधकेल भयो । यसपछि प्रतिनिधि सभाको बैठक स्थगित गरेर सभामुख बाहिर निस्के ।