- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गोटी बनेको आरोप लगाएका छन् ।
बुढा नेतालाई विस्तापित गर्छु भन्दै राजनीतिमा आएका लामिछानेले उनै पुराना तथा बुढा नेताको इशारामा आफैँलाई खाडलमा हाल्ने काम गरिरहेको भन्दै नेता शिवाकोटीले नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ओली र प्रचण्डले रविको काँधमा बन्दुक राखेर पड्काएको टिप्पणी गरे ।
नेपाल प्रेस युनियनका पूर्व महासचिव शिवाकोटीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मिडिया हाउसबाटै पक्राउ गरेर प्रचण्ड सरकारले ज्ञानेन्द्र सरकारभन्दा कडा सर्वसत्तावादी चरित्र देखाएको आरोपसमेत लगाए ।
उनले भने, “ज्ञानेन्द्रको दोस्रो बुख्याँचाको रुपमा प्रचण्ड देखिएका छन्, उनैको इशारामा लामिछाने नाचिरहेका छन्, अरुप्रति प्रतिशोध साँधिरहेका छन् । अपराधीलाई कारबाही गर्ने कुरामा दुई मत भएन तर आफैँ अपराधै अपराधको नायकले अरुलाई कारबाही गर्दा पुर्वाग्रह देखियो ।”
शिवाकोटीले अगाडि भने, “नागरिकता प्रकरणले सिरोहियालाई समातिएको हो भने लामिछानेको नागरिकता काण्ड झन् ठूलो छ, सबैभन्दा पहिला लामिछानेलाई नै समात्नु पर्छ तर त्यो त भइरहेको छैन, त्यसैले यहाँ पुर्वाग्रह र प्रतिशोध प्रष्ट झल्किन्छ ।”
नागरिकता काण्ड, पार्सपोर्ट, डाईभर हत्या काण्ड, दुरुत्साहन काण्ड, सहकारी काण्ड लगायतका दर्जनौँ काण्ड रहेकाले ढिलो चाँडो गृहमन्त्री लामिछानेको बास पनि जेलमा हुने शिवाकोटीले दाबी गरे ।
“समय सधैँ ओली, प्रचण्ड र रविको पक्षमा मात्रै घुम्दैन, दोहोरो नागरिकताको विषय अहिले मुल्तवीमा रोकिएको मात्रै हो, कुनै न कुनै बेला यो अगाडि बढेपछि यिनी जेल जाकिने पक्का छ,” शिवाकोटीले भने ।
प्रतिपक्ष दल कांग्रेसका नेताको बारेमा प्रश्न उठाउँदै गर्दा सत्ता पक्षका नेताहरुको काण्डका बारेमा चाहिँ एक शब्द नबोल्नुले उनी पुर्वाग्रही छन् भन्ने प्रष्टै देखिएको नेता शिवाकोटीको जिकीर छ ।
लामिछानेलाई टिभीको कार्यालयबाट पक्राउ गरेको बेला पनि आफूहरुले प्रतिवाद गरेको स्मरण गर्दै कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीले आज आफैँ मिडियाप्रति आक्रमणकारी बन्नु दुर्भाग्य भएको टिप्पणी गरे ।
तत्कालीन राजा ज्ञानेन्द्रले दललाई प्रतिबन्ध लगाउँदा पनि शुरुमा धेरैले ठीक मानेका थिए, पछि बुझ्दै गएपछि विरोधमा उत्रिएको चर्चा गर्दै उनले पहिले रविलाई ठीक मानेका व्यक्तिहरुले पनि विस्तारै बुझ्दै गएपछि बेठीक नै रहेछ भन्न थालेको उल्लेख गरे ।
आजको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा पनि यो विषयले प्रमुखताका साथ स्थान पाउने बताइएको छ ।