arrow

एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्छ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १० बिहिबार
khag-raj-adhikari.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा (एमाले) तनहुँ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले पार्टीलाई देशकै सबैभन्दा ठूलो र निर्णायक शक्ति बनाउने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

आगामी निर्वाचनमा तीनवटै तहमा एमालेको एकल बहुमत आउने गरी तयारी थाल्न कार्यकर्तालाई आग्रह गर्दै उनले भने, “आगामी निर्वाचनमा स्थानीय, प्रदेश र सङ्घमा बहुमत ल्याउने गरी काम गर्नुपर्ने लक्ष्यमा हिँडेका छौँ । यसका लागि सम्पूर्ण शक्ति लगाउनुपर्छ ।”

पार्टीका स्थायी कमिटी सदस्य रहेका मुख्यमन्त्री अधिकारीले देश विकास, स्थिरता र आर्थिक समृद्धिका लागि एमालेलाई मूल शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशमा सरकार गठनको विषय सर्वोच्चमा विचाराधीन रहेको भन्दै सर्वोच्चको फैसला मानेर जानुको विकल्प नभएको उनले उल्लेख गरे ।

प्रदेश सरकारले बजेट निर्माणको प्रक्रिया सुरु गर्न लागेको बताउँदै मुख्यमन्त्री अधिकारीले शुक्रबारदेखि सिद्धान्त र प्राथमिकताका विषयमा प्रदेशसभामा छलफल प्रारम्भ गरिने जानकारी दिए ।

उनले समाजवादको यात्रामा अगाडि बढ्ने क्रममा आइपर्ने बाधालाई पन्छाउँदै निरन्तर गन्तव्यतर्फ लाग्नुपर्ने उल्लेख गरे ।

मुख्यमन्त्री अधिकारीले भ्रष्टाचारलाई ढाकछोप गर्ने, कानुनको दुरुपयोग गर्ने लगायतका काम कोही कसैले गर्न नहुनेमा जोड दिए । पार्टीभत्र कोही पनि सदस्य सहकारीको अपचलनमा रहेको भेटिए तत्कालै कारबाही गरिने उनको भनाइ छ ।

मुख्यमन्त्री अधिकारीले भने, “हामी त्यस्ता व्यक्तिलाई संरक्षण गर्दैनौँ, पार्टीकै सहकारी विभागका सचिवको विषयमा कुरा आएपछि हामीले जिम्मेवारीबाट हटाएका छौँ ।”

उनले प्रदेश सरकार प्रदेशलाई समृद्ध र विकासको गतिमा अगाडि बढाउन दृढ भएर लागेको उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ