arrow

कार्यदलको बैठक शुक्रबार बिहान

सहकारी ठगी छानबिनमा रविको नाम राख्नै नहुने गठबन्धनको जोड, कांग्रेसको राख्नैपर्ने अडान

संसदीय छानबिन समितिका लागि बस्दै आएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै, सकारात्मक नतिजा नआएसम्म संसद नियमित नहुने पक्का 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १० बिहिबार
sahakari-samiti-81-2-8.jpg

काठमाडौँ । सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ ।

सिंहदरबारस्थित कानून मन्त्रालयमा बसेको बैठक निष्कर्षमा पुग्न नसके पनि सकारात्मक छलफल गरेको सदस्य महेश बर्तौलाले जानकारी दिएका हुन् ।

कांग्रेसले उठाएका सहकारीको नाम उल्लेख गर्न समस्या नभएको तर व्यक्ति नाम उल्लेख नगर्ने प्रस्ताव सत्ता पक्षले राखेको उनले बताए । बिहीबारको बैठकमा केही ठोस विषयमा छलफल भएको र शुक्रबार बिहान बस्ने बैठकमा सहमति हुने बर्तौलाले दाबी गरे ।

त्यस्तै रास्वपाका कार्यदल सदस्य शिशिर खनालले बिहीबारको बैठकमा कांग्रेस लचक भएको आफूले बुझेको बताउँदै थप छलफल गरेर बैठक बस्ने कुरा भएको बताए ।

त्यस्तै कार्यदलका सदस्य एवं नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकमा कार्यादेश रवि लामिछानेको नाम उल्लेख गर्ने विषयमा आफूहरुको अडान कायम रहेको बताए । 

आफूहरुले गोलमटोलको भाषाको प्रयोग मान्य नहुने स्पष्ट रुपमा राखेको बताउँदै परियारले सम्बन्धित व्यक्तिको नाम उल्लेख नगरी कांग्रेस सहमतिमा नआउने स्पष्ट गरे । बिहीबार सत्ता पक्षले राखेको प्रस्तावमा कांग्रेस सहमत हुने अवस्था नबनेको बताए ।     

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका  प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् । 

यसअघि आइतबार भएको कार्यदलको बैठकमा सहमतिमा नपुगे पनि अर्को बैठकमा सत्ता पक्षले परिमार्जित प्रस्ताव पेश गर्ने सहमति भएको थियो ।

सहमति बनेर संसदीय छानबिन समिति नबनेसम्म संसदको अवरोध खुल्ने अवस्था छैन । केही दिनदेखि सत्ता गठबन्धन पेलेरै अगाडि बढेको छ । 

शुक्रबार बिहान ११ बजेका लागि संसद बैठक डाकिएको छ । तर त्यो बैठक सहजै बस्ने आधार केही पनि छैन । मंगलबार सरकारले वार्षिक बजेट सार्वजनिक गर्नुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ