- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी बर्खास्त भएका छन् । सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई पदमुक्त भएको फैसला सुनाएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।
अधिकारी मुख्यमन्त्रीमा २०८० चैत २५ गते नियुक्त भएका थिए । उनी मुख्यमन्त्री नियुक्त भएको ५० दिनमै पदमुक्त भएका हुन् ।
साथै प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । पाण्डेलाई ४८ घण्टाभित्रै मुख्यमन्त्री नियुक्त गर्न आदेश दिइएको बताइन्छ ।
गण्डकी प्रदेश सभा ६० सदस्यीय छ । संविधानअनुसार बहुमत कायम हुन ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्दछ । तर सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री खगराजले विश्वासको मत पाएको घोषणा गरेका थिए ।
सभामुख प्रयोग भएर खगराजलाई विश्वासको मत दिलाएपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च गएका थिए ।
योसँगै यस प्रक्रियाविरुद्ध कांग्रेस संसदीय दलका नेता पाण्डेले चैत २७ गते दायर गरेको रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासले बैशाख १७ गते खारेज गरेकामा (६० सदस्यीय प्रदेश सभामा सभामुखलाई गणना नगर्दा ५९ हुने र त्यसको ३० नै बहुमत हुने व्याख्या) सर्वोच्चको उक्त फैसला पनि गण्डकीको नयाँ फैसलासँगै सच्चिएको छ ।